प्रतिनिधिसभाका सचिव राई पदमुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले सभामुखको सिफारिसमा प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई पदबाट हटाएका छन्।

काठमाडौँ– प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले सभामुखको सिफारिसमा उनलाई पदबाट हटाएका छन्।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले मंगलबार एक विज्ञप्ति जारी गरी राईलाई सचिवको पदबाट हटाइएको जानकारी दिए।

राष्ट्रपतिले सभामुखले गरेको सिफारिसअनुसार ‘संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी ऐन, २०७५’ को दफा ६ को खण्ड (ङ) बमोजिम उनलाई पदबाट हटाएको विज्ञप्तिमा उल्लेख छ।