जनताका दैनिक समस्या र विकास निर्माणका अधुरा कामलाई प्राथमिकतामा राख्न सांसदहरूले सरकारसँग माग गरेका छन्।
काठमाडौँ– सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउँदै जनताको दैनिकीसँग जोडिएका विषयलाई प्राथमिकतामा राख्न आग्रह गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा उनीहरूले जनताको अधिकारलाई संरक्षण गर्ने दायित्व सरकारको भएको पनि स्मरण गराए।
सांसद विश्वराज पोखरेलले ओखलढुङ्गा जिल्लामा प्रसारण लाइनबाट करेन्ट लागेर घाइते भए पनि उपचार नपाएकाले उपचारको व्यवस्थाका साथै प्रसारण लाइन दुर्घटना नहुने गरी व्यवस्थापन गर्न माग गरे।
सांसद बुद्धरत्न महर्जनले चापागाउँ क्षेत्रको सडक जीर्ण भएकाले छिटो निर्माण गर्न माग गरे। सांसद बुद्धिप्रसाद पन्तले वीरगन्ज जीवनकै कठिन अवस्थाबाट गुज्रिएको, वीरगन्जको सडक भत्किएको, हेटौँडामा २५ गज र वीरगन्जमा २५ मिटरको सडक मापदण्ड बनाउँदा एउटै राजमार्गमा दोहोरो हुने गरी नीतिगत र कानुनी व्यवस्था गर्न नहुने बताए।
सांसद भरतबहादुर स्वाँरले अछामको विकासमा कञ्जुस्याइँ गरिएको भन्दै जिल्ला अस्पताललाई १०० शय्याको बनाइनुपर्ने माग गरे। सांसद भरतप्रसाद पराजुलीले सिन्धुपाल्चोकको गुठी समस्या समाधान गरी किसानलाई जग्गा दिन माग गरे। जिल्लामा बाँदर तथा बँदेलका कारण कृषकले बाली उठाउन नपाउने भएकाले नियन्त्रणको कार्यक्रम ल्याउनुपर्नेमा उनले जोड दिए।
सांसद भूमिका लिम्बू सुब्बाले पाँचथरका पुल निर्माण सम्पन्न नभएकाले वर्षायाम अगावै वैकल्पिक व्यवस्था गर्न माग गरिन्। सांसद भूमिका श्रेष्ठले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका हक अधिकारलाई उच्च प्राथमिकता दिएर आगामी बजेट निर्माण गरिनुपर्नेमा जोड दिइन्।
सांसद मञ्जु भुसालले बुटवलबाट प्रादेशिक राजधानी सारिएपछि बजार सुनसान भएको भन्दै बुटवल क्षेत्रका जनताको सुरक्षित बसोबास निश्चित गरी बस्ती व्यवस्थित बनाउने काम अघि बढाउन माग गरिन्।
सांसद मनदकृष्ण श्रेष्ठले नीति तथा कार्यक्रमको बुँदा नं ५८ मा अपाङ्गता भएका व्यक्तिका लागि गरिएको व्यवस्था उपयुक्त नभएकाले विशेष व्यवस्था गर्न माग गरे। सांसद मनमाया विकले सुकुमवासी समस्याका विषयमा कानुन, न्याय तथा मानव अधिकार समितिबाट अनुगमनमा जाँदा विद्यार्थीले पढ्न नपाएको र डोजरले घर भत्काएको दृश्यले मानिसहरू मानसिक समस्यामा रहेकाले समस्या समाधान गर्न माग गरिन्।
सांसद मनिष खनालले ३५ वर्षदेखिको लालपुर्जाको राजनीति अब बन्द हुनुपर्ने बताउँदै वास्तविक सुकुमवासी समस्या समाधान गर्न प्राधिकरण गठन गरिनुपर्ने माग गरे। सांसद माधवबहादुर थापाले पाल्पाको पर्यटकीय विकास गर्न माग गरे। जिल्लालाई पर्यटन पुँजीका रूपमा विकास गरिनुपर्ने उनको भनाइ थियो।
सांसद मोहनलाल आचार्यले प्राचीन तिलौराकोट रहेको कपिलवस्तुको पर्यटकीय विकास गर्ने गरी बजेट ल्याउन माग गरे। सांसद महम्मद फिरदोस आलमले रौतहटको सीमावर्ती क्षेत्रमा चारपाङ्ग्रे सवारी निषेध गर्दा समस्या भएकाले समाधानको माग गरे। जिल्लामा उखु किसानका उखु थन्किएकाले गरुडाको श्रीराम सुगर मिल तत्काल सञ्चालनमा ल्याउन उनले माग गरे।
सांसद वसुमाया तामाङले रैथाने र मौलिक परिकारलाई विश्वमा चिनाउन माग गरिन्। ६० प्रतिशत जनता कृषिमा निर्भर भएकाले रैथाने र मौलिक कृषि उपज विदेशमा निर्यात गर्न र विश्व व्यापार सङ्गठनमा गरेको प्रतिबद्धता पूरा गर्न उनले माग गरिन्।
सांसद भरत गिरीले राजनीतिक दलभन्दा माथि उठेर काम गर्न सरकार लाग्नुपर्ने बताए। सांसद यज्ञबहादुर बोगटीले घरबारविहीन भएकाहरूको व्यवस्था गर्न माग गरे।
सांसद युवराज दुलालले मेलम्ची र इन्द्रावती बाढी पीडितको समस्या समाधानमा काम गर्न अनुरोध गरे। मेलम्ची खानेपानी आयोजनाको सामाजिक उत्थान कार्यक्रम सञ्चालनमा ल्याउन र वनदेउ चौतारा सडक जीर्ण भएकाले निर्माण गर्न उनले माग गरे।
सांसद रचना खतिवडा खत्रीले सहिद परिवार र घाइतेको घाउमा मलहम लगाउन माग गरिन्। सांसद रजनी श्रेष्ठले खेलाडी बिदेसिन बाध्य भएको उल्लेख गर्दै विद्यालयमा खेल अनिवार्य गरिनुपर्ने र खेल क्षेत्रमा राजनीति नगर्न माग गरिन्। सांसद रत्नकुमारी थापाले अछामका बाढी पहिरो पीडितको समस्या समाधान गरिनुपर्नेमा जोड दिइन्।
सांसद रञ्जु न्यौपानेले ज्येष्ठ नागरिकमैत्री सार्वजनिक संरचना निर्माण गर्न माग गरिन्। सांसद रमेशकुमार मल्लले सल्यानमा असिना पानीले कृषि उपज क्षति गर्नुका साथै संरचनामा क्षति पुगेकाले तथ्याङ्क सङ्कलन गरेर क्षतिपूर्ति दिनुपर्नेमा जोड दिए।
सांसद रमेशकुमार सापकोटाले कर्णालीमा विद्युत् नहुँदा विकासमा ढिलाइ भएको बताए। अन्यत्र यस्तो समस्या हुँदा पाँच-सात दिनमै बन्ने तर कर्णालीमा सधैँ ढिलाइ हुने गरेको उनले जानकारी गराए। सांसद रमेश प्रसाईँले 'जेनजी' आन्दोलनका दोषीलाई कानुनी कारबाहीको माग गरे।
सांसद रहबर अन्सारीले बारा-पर्सा करिडोर नेपालको ठूलो करिडोर भएको र यहाँ खोला, नाला हडपी उद्योग बनेकाले उच्चस्तरीय छानबिन गरी हडपिएको जग्गा सरकारी स्वामित्वमा ल्याउन माग गरे। सिमराको क्यासिनोमा नेपालीलाई प्रवेश गराइएकाले त्यसमा प्रतिबन्ध लगाउनुपर्नेमा उनको जोड थियो।
सांसद राजकिशोर महतोले किसानको बाली नीलगाईका कारण क्षति पुगेकाले यो समस्या समाधान गर्न माग गरे। सांसद राजन गौतमले नवलपुरमा नारायणी कटानले भूमि गुमाउने जनताले जग्गा कहिले पाउने निश्चित गर्न माग गरे। तटबन्धलाई आगामी वर्षको बजेटमै व्यवस्था गरिनुपर्ने उनको भनाइ थियो।
सांसद राजीव खत्रीले काठमाडौँ र भक्तपुरमा बन्ने भनिएको स्मार्ट सिटीको काम दशकौँ भइसक्दा पनि ढिलाइ भएको भन्दै छिटो निर्माण गर्न सरकारको ध्यानाकर्षण गराए। सांसद कलावती शर्माले सुकुमवासी समस्या समाधानका लागि सरकार गम्भीरतापूर्वक लाग्नुपर्नेमा जोड दिइन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
