सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योग घोषणा

सरकारले सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योग घोषणा गर्दै सफ्टवेयर र डिजिटल सेवा प्रवर्द्धन गर्ने योजना अघि सारेको छ।

तस्वीर : नेपाल फोटो लाइब्रेरी

काठमाडौँ– सरकारले सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योग घोषणा गरी सफ्टवेयर र डिजिटल सेवालाई प्रवर्द्धन गर्ने बताएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय सदनको संयुक्त बैठकमा सरकारको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो जानकारी दिएका हुन्। सरकारले साइबर सुरक्षा, हरित कम्प्युटिङ र एआई कम्प्युटेसन निर्यातलाई प्रवर्द्धन गर्ने उनले उल्लेख गरे।

'डिजिटल पार्क', उच्च क्षमताका 'डेटा सेन्टर' र सार्वजनिक डिजिटल पूर्वाधार विकास गरी नेपाललाई 'टेक हब'का रूपमा अघि बढाइने राष्ट्रपति पौडेलले बताए। "सूचना प्रविधि निर्यात उद्योगलाई वित्तीय सहुलियत, लगानी सहजीकरण र सरकारी सहलगानीसहित नवप्रवर्तन खर्चमा कर प्रोत्साहन उपलब्ध गराइनेछ," उनले भने।

यसैगरी, सरकारले आगामी आर्थिक वर्षभित्र नेपालको संविधान संशोधनका लागि बहसपत्र तयार गर्ने विषयलाई नीति तथा कार्यक्रममा समावेश गरेको छ। राष्ट्रपति पौडेलले आज प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उक्त विषय समेटिएको हो।

संविधान संशोधनको बहसपत्र तयार गर्न प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा कार्यदल गठन गरिएको छ। कार्यदलले अहिले राजनीतिक दलका साथै विभिन्न पेसा र क्षेत्रका व्यक्तिसँग सुझाव लिइरहेको छ।