इरान युद्धबारे रुसी राष्ट्रपति पुटिनले भने- हामीलाई कठिन परिस्थितिमा पारेको छ

रुसले इरान र संयुक्त राज्य अमेरिकाबीच मध्यस्थता गर्न तयार रहेको समेत बताएको छ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इरानसँगको जारी द्वन्द्व चाँडै अन्त्य हुने आशा व्यक्त गरेका छन्, तर यदि यसो भएन भने सबै पक्षले क्षति बेहोर्ने पनि बताएका छन्।

बीबीसी फारसीले जनाएअनुसार पुटिनले शनिबार पत्रकारहरूसँग यसबारे बोलेका थिए। "यो एकदमै जटिल द्वन्द्व हो र यसले हामीलाई कठिन परिस्थितिमा पार्छ, किनकि हाम्रो इरान र फारसी खाडी देशहरूसँग मैत्रीपूर्ण सम्बन्ध छ," पुटिनले भने।

इरान र अमेरिकाबीच जारी वार्तालाई उल्लेख गर्दै उनले भने, "मेरो विचारमा, कुनै पनि पक्ष यो द्वन्द्व बढाउन इच्छुक छैन।"

हालै इरानी विदेशमन्त्री अब्बास अरघचीले पनि रुस भ्रमणको क्रममा राष्ट्रपति पुटिनलाई भेटेका थिए।

रुसले यसअघि सबै पक्षहरूलाई शान्ति कायम राख्न आग्रह गरिसकेको छ। उसले इरान र संयुक्त राज्य अमेरिकाबीच मध्यस्थता गर्न तयार रहेको समेत बताएको छ।