रुसको तेल र ग्यासबाट हुने आम्दानी ३८ प्रतिशतले घट्यो

सन् २०२६ को पहिलो चार महिनामा तेल र ग्यास क्षेत्रबाट प्राप्त हुने राजस्वमा ३८ प्रतिशतले गिरावट आएको रुसको अर्थ मन्त्रालयले जनाएको छ।

रुसको तेल र ग्यासबाट हुने राजस्वमा उल्लेख्य रूपमा कमी आएको छ। सन् २०२६ को पहिलो चार महिनामा, गत वर्षको सोही अवधिको तुलनामा तेल र ग्यासको आम्दानी ३८.३ प्रतिशतले घटेर करिब ३० अर्ब ९५ करोड अमेरिकी डलरमा झरेको रुसी अर्थ मन्त्रालयले जनाएको छ। मन्त्रालयले शुक्रबार आफ्नो वेबसाइटमार्फत यो तथ्यांक सार्वजनिक गरेको हो।

यो गिरावट मुख्य रूपमा अघिल्लो अवधिमा तेलको मूल्य कम भएका कारण भएको मन्त्रालयले बताएको छ। यद्यपि, सोही अवधिमा गैरतेल र ग्यास क्षेत्रको राजस्व भने १०.२ प्रतिशतले बढेर झन्डै १२६ अर्ब ९० करोड डलर पुगेको छ।

मन्त्रालयका अनुसार तेल र ग्यास राजस्वमा उतार-चढाव आए पनि बजेट प्रणाली स्थिर रहेको छ। मन्त्रालयले भनेको छ, “अनुकूल समयमा सञ्चित गरिएको अतिरिक्त राजस्व र कम अनुकूल समयमा हुने घाटा पूर्ति गर्न ‘राष्ट्रिय सम्पत्ति कोष’को प्रयोग गरिएकाले ऊर्जा आयमा कमी आए पनि बजेटको स्थिरता सुनिश्चित छ।”

सन् २०२६ देखि २०२८ सम्मको बजेट कानूनअनुसार, रुसले सन् २०२६ मा तेल र ग्यासबाट करिब एक खर्ब २० अर्ब १० करोड डलर र गैरइन्धन राजस्वबाट करिब चार खर्ब २२ अर्ब ४० करोड डलर आर्जन गर्ने लक्ष्य राखेको छ।