साउदीको असहमतिपछि रोकियो ट्रम्पको नौसैनिक योजना

साउदी अरेबियाले आफ्नो हवाई क्षेत्र र सैन्य बेस प्रयोगको अनुमति दिन अस्वीकार गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलमार्गको सुरक्षासम्बन्धी योजना तत्कालका लागि स्थगित गरेका छन्।

फाइल तस्वीर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलघाँटी हुँदै आवतजावत गर्ने व्यावसायिक जहाजलाई सुरक्षा एस्कोर्ट उपलब्ध गराउने महत्त्वाकांक्षी नौसैनिक योजना अचानक स्थगित गरेका छन्। साउदी अरेबियाले अमेरिकी सैन्य विमानलाई आफ्नो हवाई क्षेत्र प्रयोग गर्न तथा प्रिन्स सुल्तान एयरबेस सञ्चालनमा ल्याउन अनुमति दिन अस्वीकार गरेपछि उक्त योजना रोकिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै एनबीसी न्यूजले जनाएअनुसार ट्रम्प प्रशासनको ‘प्रोजेक्ट फ्रिडम’ नामक सैन्य योजना खाडी क्षेत्रका प्रमुख साझेदार मुलुकहरूलाई पूर्वतयारीबिना सार्वजनिक गरिएको थियो। यसले विशेषगरी साउदी अरेबिया र अन्य खाडी राष्ट्रहरूलाई असहज बनाएको छ।

प्रतिवेदनअनुसार राष्ट्रपति ट्रम्पले साउदी युवराज मोहम्मद बिन सलमानसँग प्रत्यक्ष टेलिफोन संवाद गरी सहयोगका लागि आग्रह गरेका थिए। तर रियादले अमेरिकी सैन्य विमानलाई आफ्नो भूभाग तथा हवाई मार्ग प्रयोग गर्न अनुमति नदिएपछि अपरेसन तत्कालका लागि रोक्नुपरेको हो।

एनबीसी न्यूजसँग कुरा गर्ने एक साउदी स्रोतले योजनाको प्रकृतिप्रति असन्तुष्टि व्यक्त गर्दै भनेको छ, “यस्तो प्रकारका सैन्य गतिविधिमा वास्तविक समयमै परिस्थिति तीव्र रूपमा बदलिन्छ।” स्रोतले साउदी अरेबिया प्रत्यक्ष सैन्य तनावभन्दा पनि कूटनीतिक समाधानको पक्षमा रहेको स्पष्ट पारेको छ। रियादले अमेरिका र इरानबीच सम्भावित समझदारी कायम गराउने उद्देश्यले पाकिस्तानले नेतृत्व गरिरहेको कूटनीतिक पहललाई समर्थन गरिरहेको छ।

यता ह्वाइट हाउसका एक अधिकारीले भने अमेरिकी प्रशासनले क्षेत्रीय सहयोगी राष्ट्रहरूलाई अपरेसनबारे अग्रिम जानकारी गराएको दाबी गरेका छन्। तर समाचारमा उद्धृत एक पश्चिम एसियाली कूटनीतिज्ञले अमेरिका स्वयंले योजना सार्वजनिक गरिसकेपछि मात्रै ओमानलगायत सम्बन्धित पक्षसँग समन्वय थालेको बताए। कूटनीतिज्ञका अनुसार ‘पहिले घोषणा गर्ने र त्यसपछि समन्वय खोज्ने शैली’ ले क्षेत्रीय साझेदारहरूलाई असहज बनाएको थियो।

यसैबीच, ट्रम्पले ‘प्रोजेक्ट फ्रिडम’ अस्थायी रूपमा रोकिएको घोषणा गरेको भोलिपल्ट इरानले हर्मुज जलघाँटी क्षेत्रमा सञ्चालित व्यावसायिक जहाजलाई आवश्यक सम्पूर्ण सहायता दिन आफू तयार रहेको बताएको छ। इरानको बन्दरगाह तथा समुद्री संगठनले समुद्री सुरक्षा, प्राविधिक सहयोग, स्वास्थ्य सेवा तथा इन्धन आपूर्ति उपलब्ध गराउन सम्पूर्ण संरचना सक्रिय पारेको जनाएको छ।

राष्ट्रपति ट्रम्पले मंगलबार ट्रुथ सोसलमार्फत ‘प्रोजेक्ट फ्रिडम’ रोकिएको जानकारी दिँदै पाकिस्तानको आग्रहपछि यो निर्णय गरिएको उल्लेख गरेका छन्। उनले अमेरिका र इरानबीच सम्भावित समझदारीतर्फ प्रगति भइरहेको दाबी गर्दै तत्कालका लागि तनाव कम गर्ने उद्देश्यले विराम दिइएको बताएका छन्। ट्रम्पले इरानविरुद्धको रणनीतिक अभियानमा अमेरिका ‘महत्त्वपूर्ण सैन्य लाभ’ को अवस्थामा पुगेको दाबीसमेत गरेका छन्।