बाढीपहिरोले कुन-कुन सडक अवरुद्ध छन्?

केही दिन यता भइरहेको वर्षाका कारण आएको बाढी पहिरोका कारण देशमा विभिन्न राजमार्गहरू अवरुद्ध भएका छन्।

फाइल तस्वीर

काठमाडौँ- केही दिन यता भइरहेको वर्षाका कारण आएको बाढी पहिरोका कारण देशमा विभिन्न राजमार्गहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीले दिएको जानकारी अनुसार बाढीपहिरोले अवरुद्ध राजमार्गहरू कतिपय एकतर्फी सुचारु भए पनि पूर्णरूपले अझै सञ्चालन हुन सकेका छैनन्।  

वर्षा पछि आएको बाढीले कोशी प्रदेश अन्तर्गत इलामको रोङ तथा झापा जाने भित्री कच्ची सडक पूर्ण रूपमा अवरोध भएको छ। त्यस्तै, भोजपुरमा  मध्य पहाडी लोकमार्गको बोखिम खण्डमा बाढीका कारण सडक एकतर्फी रूपमा सुचारु भएको छ। ताप्लेजुङको सुकिम्बा–दोभान सडक खण्ड भने पहिरो हटाएपछि पूर्ण रूपमा सञ्चालन भएको छ।

बागमती प्रदेशअन्तर्गत काभ्रेस्थित बीपी राजमार्ग बाढीका कारण पूर्ण रुपमा अवरुद्ध रहेको छ। नमोबुद्ध नगरपालिका वडा- ६ चौकीडाँडा र रोशी गाउँपालिकाको वडा-७ र चारसयबेसीँमा सडक पूर्णरूपमा अवरुद्ध छ। 

बाढी आउने सम्भावनाका कारण खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी चल्ले सवारी साधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ। त्यसैगरी, अरनिको राजमार्ग र कान्तिलोकपथ पहिरो पन्छाएपछि अहिले सुचारु भएको छ। 

गण्डकी प्रदेशमा पनि विभिन्न राजमार्गहरूमा अवरोध भएका थिए। केहीमा अहिले पहिरो पन्छाएर यातायात आंशिक रुपमा सुचारु गरिएको प्रहरीले जनाएको छ।  म्याग्दीको बेनी–जोमसोम सडक खण्ड र लमजुङको मध्य पहाडी लोकमार्गमा पहिरोका कारण यातायात एकतर्फी मात्र सुचारु छ।