चट्याङले ट्रान्सफर्मरमा क्षति पुर्‍याउँदा १३ हजार घरधुरी विद्युत्विहीन

चट्याङका कारण ट्रान्सफर्मरमा क्षति पुगेपछि बुटवल पावर कम्पनीका १३ हजार उपभोक्ता तीन दिनदेखि विद्युत्विहीन भएका छन्।

वालिङ (स्याङ्जा)– बुटवल पावर कम्पनी (बीपीसी) का १३ हजार उपभोक्ता तीन दिनदेखि विद्युत्विहीन भएका छन्।

गत शनिबार राति वालिङ–१ कालीमाटीस्थित सबस्टेसनमा परेको चट्याङका कारण ट्रान्सफर्मरमा क्षति पुगेपछि उनीहरू विद्युत्विहीन भएका हुन्। विद्युत् सेवा अवरुद्ध हुँदा वालिङ र भीरकोट नगरपालिकाका ती उपभोक्ता प्रत्यक्ष मर्कामा परेका छन्।

ट्रान्सफर्मरमा चट्याङले क्षति पुर्‍याएपछि मर्मतका लागि बुटवल लगिएको छ। मर्मत सम्पन्न हुन झन्डै २५ दिन लाग्ने देखिएपछि वैकल्पिक ट्रान्सफर्मरको व्यवस्थापनमा जुटेको बुटवल पावर कम्पनी गल्याङका प्रमुख डोल खरेलले जानकारी दिए।

“हामीसँग भएको ट्रान्सफर्मरमा चट्याङले क्षति पुर्‍याएकाले मर्मतका लागि बुटवल पठाएका छौँ,” उनले भने, “मर्मतका लागि समय लाग्ने भएपछि नेपाल विद्युत् प्राधिकरणसँग वैकल्पिक ट्रान्सफर्मर माग गरिएको थियो। प्राधिकरणबाट ट्रान्सफर्मर प्राप्त भइसकेको छ, अब जडान गर्न केही दिन लाग्नेछ।”

सो कम्पनीको वालिङ वितरण केन्द्रअन्तर्गत करिब १८ हजार ५०० कुल उपभोक्ता रहेका छन्।