प्रभावकारी परराष्ट्र नीति अपनाउन पूर्वराजदूतहरूको आग्रह

नेपाल–चीन कूटनीतिक सम्बन्धको ७० वर्ष पूरा भएको सन्दर्भमा चीनका लागि नेपालका पूर्व राजदूतहरूले सरकारलाई संवेदनशील र प्रभावकारी परराष्ट्र नीति अपनाउन आग्रह गरेका छन्।

काठमाडौँ- नेपाल–चीन कूटनीतिक सम्बन्धको ७० वर्ष पूरा भएको सन्दर्भमा चीनका लागि नेपालका पूर्व राजदूतहरूले सरकारलाई संवेदनशील र प्रभावकारी परराष्ट्र नीति अपनाउन आग्रह गरेका छन्। उनीहरूले वर्तमान जटिल भूराजनैतिक परिस्थितिमा नेपाल–चीन सम्बन्धलाई अझ प्रगाढ बनाउँदै विकास सहकार्यलाई तीव्रता दिनुपर्नेमा जोड दिएका छन्।

राजेश्वर आचार्य, महेन्द्र पाण्डे, टंक कार्की, महेश मास्के, लीलामणि पौडेल, विष्णुपुकार श्रेष्ठ र कृष्णप्रसाद ओलीलगायत पूर्व राजदूतहरूको छलफलपछि जारी प्रेस वक्तव्यमा नेपालले ‘एक चीन नीति’ दृढतापूर्वक पालना गर्दै आएको र नेपालको भूमि कुनै पनि मित्र राष्ट्रविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता पुनः स्मरण गरिएको छ।

वक्तव्यमा बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) लगायत आर्थिक, सांस्कृतिक, शैक्षिक तथा विकास परियोजनाहरूको शीघ्र कार्यान्वयनमा जोड दिइएको छ। चीनले नेपालको आर्थिक, सामाजिक, सांस्कृतिक तथा पूर्वाधार विकासमा पुर्‍याएको सहयोगको उच्च मूल्यांकन गर्दै दुवै देश बीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन नयाँ सरकारले सक्रिय भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।

पूर्व राजदूतहरूले नेपाल र चीनबीच सरकारी मात्र नभई जनस्तरमा पनि सहकार्य सुदृढ गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। साथै, लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको अभिन्न भूभाग भएको उल्लेख गर्दै छिमेकी राष्ट्रहरू नेपालका सार्वभौमिकताप्रति संवेदनशील हुने विश्वास व्यक्त गरिएको छ।

त्यस्तै, मध्यपूर्वमा देखिएको द्वन्द्व र त्यसको नेपालमाथि पर्ने प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभावप्रति चिन्ता व्यक्त गर्दै सरकारले समग्र अन्तर्राष्ट्रिय परिवेशलाई ध्यानमा राखेर सन्तुलित र प्रभावकारी परराष्ट्र नीति अवलम्बन गर्नुपर्नेमा जोड दिइएको छ।