ताप्लेजुङका वनपाखामा ढकमक्क फुल्ने गुराँसले प्राकृतिक सुन्दरता मात्र थपेको छैन, स्थानीयको घरबास (होमस्टे) र पर्यटन व्यवसायमार्फत आम्दानीको स्रोत समेत बनेको छ।
ताप्लेजुङ– माघदेखि फुल्न थालेका गुराँस वैशाख तेस्रो सातासम्म पुग्दा अधिकांश क्षेत्रमा झरिसकेका छन्। अहिले मौसमअनुसार पनि गुराँस फुल्ने अन्तिम समय हो। बेँसी क्षेत्रमा माघको तेस्रो सातादेखि र पहाडी तथा हिमाली क्षेत्रमा जेठको दोस्रो सातासम्म फुल्ने गुराँसले प्राकृतिक सुन्दरतासँगै पर्यटन प्रवर्द्धन गर्नुका साथै आम्दानीको स्रोत पनि बनेको छ।
ताप्लेजुङ हिमाली जिल्ला भएकाले वनपाखामा प्रशस्त गुराँस पाइन्छ। अझ चैत–वैशाखमा वनपाखामा देखिने राताम्य गुराँसले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरिरहेको हुन्छ। पछिल्लो समय गुराँस फुल्ने क्षेत्र नजिकै खाजा घर, होमस्टे (घरबास), चिया पसल सञ्चालन हुन थालेपछि स्थानीयको आयआर्जन वृद्धि हुनुका साथै पर्यटन प्रवर्द्धन पनि हुँदै गएको ताप्लेजुङ एफएमका स्टेसन म्यानेजर देवराज गुरुङले बताए।
गत महिनादेखि गुराँस फुल्ने पाखामा घरबास सञ्चालन गर्न थालेको बताउँदै उनले दुई दशकदेखिको सञ्चारकर्मलाई परिवर्तन गरी घरवाससँगै स्थानीय उत्पादनका परिकारको प्रवर्द्धन गर्दै आएको उल्लेख गरे। गुरुङले गुराँसको रुख देखाउँदै भने, “पछिल्लो समय गुराँसका बोट हुर्काउँदै सोहीमार्फत आन्तरिक पर्यटन प्रवर्द्धनमा जोड दिँदै आएको छु। यस वर्ष गुराँसले गर्दा मनग्य व्यापार भयो। यहाँका सयौँ क्षेत्रमा गुराँसबाट आम्दानी लिन सकिने रहेछ। विगतमा यहाँ गुराँस फुले पनि होटल क्षेत्र वरिपरि बगैँचा नहुँदा समस्या थियो। अहिले बगैँचा विस्तारमा पनि जोड दिएको छु।”
जैविक विविधता क्षेत्रमा लामो समयदेखि ताप्लेजुङमा काम गर्दै आउनुभएका हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले पाथीभरा क्षेत्रमा २२ प्रजातिका गुराँस पाइने जानकारी दिनुभयो। “चैत–वैशाखमा पाथीभरा मन्दिर जाने पदमार्ग क्षेत्र गुराँसले राताम्य देखिन्छ। यसको संरक्षण र विस्तार गर्दै पर्यटन प्रवर्द्धनमार्फत स्थानीयको आयआर्जनमा सुधार गर्दै लगेका छौँ,” उनले भने। गुराँस फुल्ने समयमा पाथीभराको दर्शन गर्दै गुराँस हेर्न आउने तीर्थयात्री तथा पर्यटकको चाप बढ्ने उनको अनुभव छ।
पाथीभरा क्षेत्रमा सञ्चालित होटल व्यवसायीले गुराँस फुल्ने समयमा मनग्य आम्दानी लिँदै आएको पाथीभरा क्षेत्र होटल व्यवसायी सङ्घका अध्यक्ष इन्द्रनारायण श्रेष्ठले बताउनुभयो। ताप्लेजुङ, तेह्रथुम र सङ्खुवासभा जिल्लाको सङ्गमस्थल तथा गुराँसको राजधानीका रूपमा रहेको तीनजुरे-जलजले-मिल्के क्षेत्रमा ३३ प्रजातिका गुराँस पाइने उनले जानकारी दिए।
यो क्षेत्र पूर्वको प्रसिद्ध र सम्भावना बोकेको पर्यटकीय गन्तव्य हो। गुराँस फुल्ने समयमा बाह्य तथा आन्तरिक पर्यटकको भिड हुने गरेकाले बगैँचा विस्तारसँगै पर्यटकीय गतिविधि चलायमान बनाउँदै लैजानुपर्नेमा सङ्खुवासभा चैनपुर नगरपालिका–१ का होटल व्यवसायी हरी खनालले जोड दिए। उनका अनुसार यस क्षेत्रमा तराईबाट आन्तरिक पर्यटक गुराँस हेर्नका लागि आउने गर्दछन्। गुराँस फुल्ने समयमा यहाँका होटल व्यवसायीको आम्दानी बढ्ने खनालले बताए। उनका अनुसार तेह्रथुम जिल्लाको वसन्तपुर क्षेत्रमा गुराँसको जुस र रक्सी प्रसिद्ध छ।
मैवाखोला क्षेत्रमा पर्ने मिल्केमा गुराँस पार्क निर्माण गरिएको छ। पर्यटन मन्त्रालयमार्फत सात करोड रुपैयाँ लागतमा पार्क निर्माण गरी विभिन्न संरचना बनाइएको खनालले जानकारी दिए। समुद्री सतहबाट २,२०० मिटरदेखि ३,५०० मिटरको उचाइका वनजङ्गलमा गुराँस पाइने उनको भनाइ छ।
नेपाल गुराँस जैविक विविधतामा धनी मुलुकमध्ये एकका रूपमा परिचित रहेको वनस्पतिविद् केशवराज राजभण्डारीले बताउनुभयो। “विश्वभर हालसम्म १,१५७ प्रजातिका गुराँस पाइन्छन्। तीमध्ये नेपालमा मात्रै ३३ प्रजातिका छन्,” उनले भने। राजभण्डारी र विदेशी लेखक मार्क एफ वाट्सनको सहकार्यमा प्रकाशित ‘रोडोडेन्ड्रन अफ नेपाल’ नामक पुस्तकका अनुसार कञ्चनजङ्घा संरक्षण क्षेत्र तथा वरपरका क्षेत्रमा गुराँसका ३३ प्रजाति फेला परेका छन्।
नेपालको पूर्वी भेगदेखि सुदूरपश्चिमसम्मका मध्य तथा उच्च पहाडी र हिमाली क्षेत्रमा गुराँस पाइने वनस्पतिविद् राजभण्डारीले जानकारी दिए। उनका अनुसार देशको कूल वन क्षेत्रमध्ये करिब १० प्रतिशत भूभागमा गुराँस पाइने विज्ञहरूको तथ्याङ्कमा उल्लेख छ। नेपालबाहेक चीन, भारत, भुटान, म्यानमार, भियतनाम, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, उत्तर कोरिया, दक्षिण कोरिया, जापान र अस्ट्रेलियामा गुराँस बढी पाइने राजभण्डारीले उल्लेख गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
