देशका यी स्थानमा वर्षा र हिमपातको सम्भावना

अहिले काठमाडाैँ उपत्यकासहित आसपासका क्षेत्रमा पानी परिरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडाैँ– अहिले काठमाडाैँ उपत्यकासहित आसपासका क्षेत्रमा पानी परिरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी र स्थानीय वायु, नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभावका साथै पूर्वदेखि पश्चिमसम्म फैलिएको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागको नजिक रहेको छ।

यसले गर्दा आज दिउँसो देशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा देशको तराई भूभागमा आंशिक बादल लाग्नेछ। देशको हिमाली र पहाडी भूभागका केही स्थानहरूमा तथा मधेश प्रदेश लगायत कोशी प्रदेशको तराईको थोरै स्थानहरूमा र बाँकी तराई भूभागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम सम्मको वर्षा/हिमपातको पनि सम्भावना रहेको छ।

यस्तै राति, देशभर साधारणतया बादल लाग्नेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग तथा  हावाहुरी, असिनासहित मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। लुम्बिनी प्रदेशको पहाडी भूभागको एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको पनि  सम्भावना रहेको छ।