न्यूयोर्कबाट फिर्ता ल्याइएको पुरातात्त्विक बुद्धको मूर्तिलाई काठमाडौँको ओमबहालस्थित न्हुछे बहा (बज्रधातु विहार)को आफ्नै आसनमा पुनर्स्थापना गरिएको छ।
काठमाडौँ– काठमाडौँ महानगरपालिका–२३ जोरगणेश ओमबहाल टोलको न्हुछे बहा (बज्रधातु विहार)बाट चोरी भएको पुरातात्त्विक तथा धार्मिक महत्व बोकेको प्रस्तर बुद्ध मूर्ति आफ्नै आसनमा फर्काइएको छ।
संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित टिवेट हाउस कलेक्सनमा पुगेको यो मूर्ति २०७८ साल फागुन १८ गते नेपाल फिर्ता ल्याइएको थियो। पुरातत्व विभाग र नेपाली सम्पदा अभियन्ताहरूले मूर्ति फिर्ता ल्याउने प्रक्रियामा आफूलाई समर्पित गरेपछि फिर्ता भएको मूर्ति राष्ट्रिय संग्रहालयमा राखेर संरक्षण गरिएको थियो।
वैशाख १८ गते बुद्ध जयन्तीको अवसर पारेर विहारमा मूर्तिलाई मूल आसनमा पुनःस्थापित गरियो। हनुमानढोकाबाट विहारमा मूर्ति लैजाँदा कार्यवाहक प्रमुख सुनिता डंगोल, वडा नं. २३ का वडाध्यक्ष मचाराजा महर्जन, सदस्यहरू, सम्पदा अभियन्ताहरू तथा गुठी खल पुचका प्रतिनिधिहरूले बाजागाजासहित उत्सव मनाए।
त्यस अवसरमा कार्यवाहक प्रमुख डंगोलले मूर्तिहरूको सुन्दरता बस्ती र चोकहरूमा हुने बताए। “नेपाल मण्डलभित्रका मूर्तिहरू केवल आकृति मात्र होइनन्, यी हरेक मूर्तिमा प्राण हुन्छ। हरेक मूर्तिसँग सामाजिक जीवनको गहिरो आत्मीय सम्बन्ध हुन्छ,” उनले भनिन्, “यी मूर्तिको संरक्षणका लागि स्थानीयहरू सचेत छन्। महानगरपालिकाका तर्फबाट हामीले गर्नुपर्ने काम पूर्ण प्रतिबद्ध भएर गर्नेछौँ।”
मूर्ति पुनर्स्थापनाले वडाको सांस्कृतिक पहिचान अभिवृद्धिका लागि ठूलो योगदान पुगेको अध्यक्ष महर्जनले उल्लेख गरे। राष्ट्रिय संग्रहालयका प्रमुख अरुणा नकर्मीले सम्पदा संरक्षणमा स्थानीय सरकार र समुदायबिचको समन्वय उत्कृष्टताको नमुना भएको बताइन्। यस्तै, सम्पदा संरक्षणकर्मी गणपतिलाल श्रेष्ठ र सञ्जय अधिकारीले विदेशमा बेचिएका प्राचीन कला फिर्ता ल्याउने काममा थप उत्साह बढेको बताए।
चोरिएका मूर्ति तथा कलात्मक वस्तुलाई मूल स्थानमा पुनर्स्थापना गरिएको यो तेस्रो सम्पत्ति हो। यसअघि कुमारी घरको तोरण र गःगुठी सूर्यमुखी महादेव मन्दिर परिसरमा रहेको महागौरी/पार्वतीको मूर्ति पनि मूल आसनमा फर्काइसकिएको छ।
यसरी मूर्ति फिर्ता गराउन काठमाडौँ महानगरपालिकाले सरोकारवाला तथा साझेदार कार्यालयका प्रतिनिधिहरूसँग छलफल, कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गर्ने गर्दछ।
संयुक्त अधिराज्य बेलायतबाट फिर्ता गरिएको र वसन्तपुरस्थित जीवित देवी श्रीकुमारीको वासस्थानबाट चोरिएको तोरण २०८२ मङ्सिर ५ गते पुनःस्थापित गरिएको थियो। त्यस्तै, २०८३ वैशाख ५ गते विश्व सम्पदा दिवसको अवसर पारेर राष्ट्रिय संग्रहालय, छाउनीमा राखिएको १३औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति वडा नं. २० मरुस्थित गःगुठी सूर्यमुखी महादेव मन्दिर परिसरको आफ्नै आसनमा पुनःस्थापित गरिएको थियो। उक्त मूर्तिको नाप ६८.५ सेन्टिमिटर उचाइ र ३०.५ सेन्टिमिटर चौडाइ छ।
चोरी भएको उक्त मूर्ति बेलायत पुऱ्याइएको थियो। त्यहाँबाट २०५२ सालमा फिर्ता गरेर राष्ट्रिय संग्रहालय छाउनीको जुद्धजातीय कलाशालामा राखिएको थियो। त्यहाँबाट काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गत, वडा नं. २० का अध्यक्ष राजेन्द्र मानन्धर, सम्पदा अभियानकर्ता गणपतिलाल श्रेष्ठ र अधिवक्ता सञ्जय अधिकारीले मूर्ति बुझेर फिर्ता ल्याएका थिए।
संग्रहालयका प्रमुख अरुणा नकर्मी, हनुमानढोका हेरचाह अड्डाका प्रमुख काजीमान प्याकुरेल, संग्रहालय अधिकृत सुवासकृष्ण डंगोल र पुरातत्व विभागका पुरातत्व अधिकृत अमृता महर्जनको रोहवरमा संग्रहालयका भण्डारे बिन्दा श्रेष्ठ र सहायक पथ प्रदर्शक उषाकुमारी सिंहले मूर्ति बुझाएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
