सवारी दुर्घटनामा एकको मृत्यु

सडक किनारमा रोकिराखिएको ट्रकको पछाडिको भागमा स्कुटर ठोक्किँदा हुप्सेकोट गाउँपालिका–२ बस्ने निशा कुमालको मृत्यु भएको हो।

काठमाडौँ- नवलपरासीको कावासोती नगरपालिका–८ कालीगण्डकी चोकस्थित पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परि एक जना घाइते भएका छन्।

शनिबार बिहान फलफूल चोकबाट डण्डातर्फ जाँदै गरेको ग प्र ०४–००२ प २६२५ नम्बरको स्कुटर सडक किनारमा रोकिराखिएको प्र नं २–०४–००१ ख ००८२ नम्बरको ट्रकको पछाडिको भागमा ठोक्किँदा हुप्सेकोट गाउँपालिका–२ बस्ने निशा कुमालको मृत्यु भएको हो।

दुर्घटनामा स्कुटर पछाडि सवार निशा कुमाल गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारका लागि चितवन पठाइएकोमा उपचारकै क्रममा बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले बताए।

दुर्घटनामा स्कुटर चालक कावासोती नगरपालिका–८ बस्ने ३७ वर्षीय शङ्कर श्रेष्ठ घाइते भएका छन्। उनको अहिले भरतपुरमा उपचार भइरहेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।