आधारभूत मापदण्ड नभएका छात्रावास बन्द गर्ने काठमाडौँ महानगरको तयारी

काठमाडौँ महानगरले आधारभूत मापदण्ड पूरा नगरेका र सुधार गर्न नसकिने छात्रावास बन्द गर्ने भएको छ। छात्रावासको गुणस्तरीयता, सुरक्षा र स्वच्छता सुनिश्चित गर्न महानगरले पाँच वटा अनुगमन टोली परिचालन गरी काम थालेको छ।

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले आधारभूत मापदण्ड पूरा नगरेका तथा सुधार गर्न नसकिने छात्रावासहरू बन्द गर्ने भएको छ। छात्रावासको मापदण्ड, गुणस्तर, सुरक्षा, स्वच्छता र सामाजिक पक्षका सूचकहरूलाई बलियो बनाउन पाँचवटा अनुगमन टोली बनाएर काम थालिसकेको महानगरले जनाएको छ।

अनुगमनका क्रममा सञ्चालनका लागि आधारभूत मापदण्ड पनि पूरा नगरेका र सुधार गर्न नसकिने छात्रावासलाई बन्द गर्ने लक्ष्य रहेको महानगरको शिक्षा विभागका प्रमुख नमराज ढकालले बताए। हाल महानगरभित्रका छात्रावासमा करिब ४० हजार व्यक्तिले सेवा लिइरहेका छन्।

प्रमुख ढकालका अनुसार यति धेरै व्यक्तिले सेवा लिइरहेको स्थानमा मापदण्डको पालना, गुणस्तर, सेवा र सुरक्षासम्बन्धी व्यवस्था जाँच गरी स्तरीय छात्रावासलाई दर्ता तथा सञ्चालन प्रक्रियामा ल्याउने र सुधार गर्न सकिनेलाई मौका दिने उद्देश्यले अनुगमन थालिएको हो।

महानगरकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले भनिन्, “एकै ठाउँमा पटक–पटक अनुगमनमा जानु नपरोस्। कुन–कुन क्षेत्रका कुन–कुन सूचक हेर्नुपर्ने हो, पूर्ण टोली बनाएर अनुगमन गर्नू। अवस्थाको निष्कर्ष निकालेर मात्र फर्किनू।”

पाँच अनुगमन टोलीमध्ये शिक्षा अधिकृत नेत्रनारायण पौडेल संयोजक र शिक्षा अधिकृत रुक्मिला इटनी सदस्य–सचिव रहेको टोलीले महानगरका वडा नं १, ३, ४, ६, १६, १८ र ३० गरी सातवटा वडामा रहेका छात्रावासको अनुगमन गर्नेछ।

त्यस्तै, शिक्षा अधिकृत ओमप्रकाश गौतम संयोजक र शिक्षा अधिकृत धनकुमारी भण्डारी सदस्य–सचिव रहेको टोलीले वडा नं ९ र ३१, तथा शिक्षा अधिकृत इन्द्रप्रसाद दाहाल संयोजक र शिक्षा अधिकृत रामचन्द्र खड्का सदस्य–सचिव रहेको टोलीले वडा नं १० भित्र सञ्चालनमा रहेका छात्रावासको अनुगमन गर्ने प्रमुख ढकालले जानकारी दिए।

यस्तै, शिक्षा अधिकृत केशव ज्ञवाली संयोजक र शिक्षा अधिकृत विनिता महत सदस्य–सचिव रहेको टोलीले वडा नं २९ तथा वरिष्ठ शाखा अधिकृत सुशील सुवेदी संयोजक र शिक्षा अधिकृत लक्ष्मी पौडेल सदस्य–सचिव रहेको टोलीले वडा नं २८ र ३२ भित्रका छात्रावासको अनुगमन गर्नेछन्।

शिक्षा विभागका प्रमुख ढकालले भने, “काठमाडौँ महानगरपालिकाले जारी गरेको छात्रावास सञ्चालनसम्बन्धी मापदण्ड, २०८० बमोजिम सञ्चालकलाई मापदण्ड कार्यान्वयनमा प्रोत्साहन गर्ने, छात्रछात्रालाई सुविधा उपलब्ध गराउने, सुरक्षा र सामाजिक सम्बन्धको पक्षलाई सन्तुलित गराउने उद्देश्यले अनुगमन थालिएको हो।”

ढकालका अनुसार अनुगमन कार्य सकिएपछि हाल सञ्चालनमा रहेका तर दर्ता नभएका, मापदण्ड पूरा गरेका होस्टेललाई दर्ता अनुमति प्रदान गरिनेछ। छात्रावासभित्र शौचालय, भान्साघर, खानेपानीको आपूर्ति, विद्युत्, प्रत्येक छात्रछात्राका लागि पलङ, दराज र टेबल, फोहोरमैला व्यवस्थापन तथा सरसफाइको प्रबन्ध हुनुपर्छ। कोठाहरू फराकिला र हावादार हुनुपर्छ। कोठामा पर्याप्त प्रकाश हुनुपर्छ र कोठा तथा शौचालयबाहेक अन्य स्थानको निगरानीका लागि सिसिटिभी क्यामरा जडान गर्नुपर्ने व्यवस्था छ।