हिमाल आरोहीको सकुशल उद्धार

धौलागिरि हिमाल आरोहणका क्रममा लडेर घाइते भएका एक आरोहीको दुई दिनपछि सकुशल उद्धार गरिएको छ।

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका–४ स्थित धौलागिरि हिमाल आरोहणका क्रममा लडेर घाइते भएका एक आरोहीको दुई दिनपछि सकुशल उद्धार गरिएको छ।

आठ हजार एक सय ६७ मिटर अग्लो धौलागिरि हिमालको सफल आरोहण गरी फर्कने क्रममा शुक्रबार बिहान चुचुरो नजिकबाट चिप्लिएर करिब चार सय मिटर तल खस्दा सङ्खुवासभाको मकालु गाउँपालिका–२ का २१ वर्षीय मिङ्मा तेन्जि शेर्पा गम्भीर घाइते भएका थिए। उनलाई उद्धार गरी आज उपचारका लागि काठमाडौँ पठाइएको उद्धारमा संलग्न ‘१४ समिट एक्सपीडिसन’ का फुरु तेन्जि शेर्पाले जानकारी दिए।

“बेसक्याम्पमा सम्पर्क गरी माथिल्लो क्याम्पबाट उद्धारकर्मी परिचालन गरेर शनिबार राति मिङ्मालाई आधार शिविर ल्याएका थियौँ,” उनले भने, “अचेत अवस्थामा भेटिएका उनको स्वास्थ्यमा सुधार हुँदै गएको छ।”