उपत्यकामा नदी किनाराका अनधिकृत बस्ती हटाउने कार्य जारी

काठमाडौँ उपत्यकाका नदी किनारा र सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका अनधिकृत बस्ती हटाउने कार्य जारी रहँदा थापाथलीका ६८ परिवार सरकारको सम्पर्कमा आएका छन्।

तस्वीर : नेपाल फोटो लाइब्रेरी

काठमाडौँ– सरकारले काठमाडौँ उपत्यकाका नदी किनारा, जोखिमपूर्ण क्षेत्र तथा सार्वजनिक जग्गामा निर्माण गरिएका अनधिकृत बस्ती हटाउने कार्यलाई तीव्रता दिएको छ।

यस अभियानअन्तर्गत आज काठमाडौँ महानगरपालिका–११, थापाथलीस्थित वाग्मती नदी किनारको बस्ती खाली गरिएको छ। साथै, महानगरपालिका–९, गैरीगाउँ–सिनामंगल र वडा नं ३१, शान्तिनगरमा पनि बस्ती खाली गर्ने कार्य जारी छ। यसैगरी, कागेश्वरी मनोहरा नगरपालिका–८ को गोठाटार बुद्धचोक र वडा नं ९ को मनोहरा टोलमा अवैध रूपमा निर्माण गरिएका संरचना हटाउने तयारी भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

काठमाडौँ उपत्यका विकास प्राधिकरणको तथ्याङ्कअनुसार शान्तिनगरमा ४७६, गैरीगाउँमा १६२, थापाथलीमा १४३, गोठाटारमा ७७ र मनोहरा टोलमा १३ गरी कुल ८७१ घरधुरी नदी किनारका बस्तीमा रहेका छन्।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र महानगरको नगर प्रहरीको संयुक्त टोलीले अवैध संरचना हटाएर ती क्षेत्र खाली गराएको छ। सुरक्षाकर्मीले बसोबास गर्दै आएका नागरिकलाई सरसामान सार्न र अन्यत्र स्थानान्तरण गर्न सहयोग गरेका थिए।

थापाथलीका ६८ परिवार सरकारको सम्पर्कमा
थापाथलीका ६८ परिवार सरकारको सम्पर्कमा आएका छन् भने अन्य स्थानबाट पनि सम्पर्कमा आउने क्रम जारी छ। सम्पर्कमा आएका परिवारलाई दशरथ रङ्गशालामा राखेर विवरण सङ्कलन गरिएको छ र उनीहरूका लागि विभिन्न स्थानमा बसोबासको प्रबन्ध मिलाइएको छ। हाललाई घरायसी सामान सुन्दरीघाटस्थित राधास्वामी सत्सङ व्यासमा सुरक्षित रूपमा राखिएको छ।

अस्थायी स्थानमा राखिएका परिवार वास्तविक सुकुम्वासी हुन् वा होइनन् भन्ने पहिचान गर्ने कार्य भोलिबाटै सुरु हुनेछ। प्रमाणीकरणका क्रममा सुकुम्वासी प्रमाणित भएका परिवारलाई दुई साताभित्र नागार्जुन नगरपालिका–१ स्थित ‘अपार्टमेन्ट’मा स्थानान्तरण गरिनेछ। त्यसलगत्तै उनीहरूको दीर्घकालीन व्यवस्थापनको काम सुरु हुनेछ।