कस्तो रहला आजको मौसम?

मधेश प्रदेशलगायत कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरूमा तातो दिन हुने सम्भावना रहेको छ ।

फाइल तस्वीर

काठमाडौँ- हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागलगायत बाँकी हिमाली भूभागमा साधारणतया बादल लागेको छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो देशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ। पहाडी भूभाग आंशिक बादल लाग्ने र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

मधेश प्रदेश लगायत कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरूमा तातो दिन हुने सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको पनि सम्भावना देखिन्छ।

त्यस्तै, आज राति कोशी ‍प्रदेशका हिमाली र पहाडी भूभाग लगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बादल लाग्ने र बाँकी हिमाली, पहाडी र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशको पहाडी र हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।