बागलुङका ३६ घरविहीन परिवारले पाए नयाँ घर

सुकुम्बासी, विपद्‌बाट विस्थापित भएका र आर्थिक अभावका कारण घर बनाउन नसकेका ३६ परिवारका लागि नगरपालिकाले घर बनाइदिएको हो।

बागलुङ– बागलुङको जैमिनी नगरपालिकाले घरविहीन नागरिकका लागि घर बनाइदिएको छ। सुकुम्बासी, विपद्‌बाट विस्थापित भएका र आर्थिक अभावका कारण घर बनाउन नसकेका ३६ परिवारका लागि नगरपालिकाले घर बनाइ दिएको हो।

१३ परिवार सुकुम्वासी, विपद्‌बाट घरविहीन भएका १२ परिवार र आर्थिक अभाव कमजोर भई पुनर्निर्माण गर्न नसकेका ४१ परिवारको घर बनाउने योजनाअन्तर्गत हालसम्म ३६ घर निर्माण गरेर हस्तान्तरण गरेको हो। नगरपालिकाले १० वटै वडाका घरविहीनका लागि घर बनाइ दिएको उपप्रमुख हरिहर शर्माले जानकारी दिए।

घरविहीनहरूको घर निर्माणका लागि तीन लाख रुपैयाँ, विपद्‌बाट क्षति भएर घरविहीन भएका परिवारलाई दुई लाख ५० हजार रुपैयाँ र आर्थिक अभाव कमजोर भई पुनर्निर्माण गर्न नसकेका परिवारलाई दुई लाख रुपैयाँ उपलब्ध गराउने गरी कार्यविधि बनाएर काम गर्दै आएको उनको भनाइ छ। नगरपालिकाले सुकुम्बासी परिवारलाई भने जग्गा खरिद गरी घर बनाइ दिएको शर्मा बताउँछन्।

“हामी निर्वाचित भएर आउनुपूर्व नै घरविहीन परिवारलाई घर बनाइ दिने योजना अगाडि बढेको थियो, त्यस बेला पनि घरविहीन परिवारको तथ्याङ्क सङ्कलन लगायतका काम भएका थिए”, उपप्रमुख शर्माले भने, “हामी आइसकेपछि सुकुम्बासी परिवारहरूलाई सुरुमा जग्गा व्यवस्थापन गरे घर बनाउने काम गर्‍यो, अहिले अन्य घरविहीनहरूको घर बनायौँ।”