आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागका अनुसार देशका हिमाली भूभागमा साधारणतया बादल लागेको छ।

फाइल तस्वीर

काठमाडौँ- हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार देशका हिमाली भूभागमा साधारणतया बादल लागेको छ। कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। हाल कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा साधारणतया बादल लाग्ने विभागले जनाएको छ। बाँकी प्रदेशका हिमाली भूभागका साथै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी ‍प्रदेशको हिमाली र पहाडी भूभाग लगायत बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। 

त्यस्तै, मधेश प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरूमा तातो दिन हुने सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको पनि सम्भावना देखिन्छ।

आज राति कोशी ‍प्रदेशको हिमाली र पहाडी भूभागलगायत बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा आंशिक बादल लाग्ने र बाँकी हिमाली, पहाडी र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशको हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।