महोत्तरीको जलेश्वरमा अन्तर्राष्ट्रियस्तरको इन्जिनियरिङ कलेज सञ्चालन गर्ने भन्दै किसानबाट सस्तो मूल्यमा खरिद गरिएको ३५ बिघा जग्गा तीन दशक बितिसक्दा पनि प्रयोगविहीन अवस्थामा छ।
महोत्तरी– महोत्तरी सदरमुकाम जलेश्वरमा अन्तर्राष्ट्रियस्तरको मणिपाल इन्जिनियरिङ कलेज सञ्चालन गर्ने भन्दै ३२ वर्षअघि किसानसँग खरिद गरिएको ३५ बिघा जग्गा अलपत्र परेको छ।
जलेश्वर–बर्दिबास सडकखण्डमा पर्ने जलेश्वर नगरपालिका–१, ७ र ८ मा रहेको सो जग्गा खरिद गरी तारबारले घेरेको तीन दशक बितिसकेको छ। तीनवटै वडाका सयौँ किसानको अन्नभण्डार मानिएको जग्गा कलेजका लागि सस्तो दाममा बिक्री गरिए पनि उपयोग नहुँदा अहिले जङ्गलमा परिणत हुन थालेको छ।
स्थानीय राजनीतिक दलका नेता, कार्यकर्ता र निर्वाचित जनप्रतिनिधिलाई सो जग्गाप्रति कुनै चासो नभएको स्थानीयवासीको गुनासो छ। ‘मणिपाल इन्जिनियरिङ कलेज एन्ड टेक्नोलोजी’ सञ्चालनका लागि स्थानीय किसानले प्रतिकट्ठा मात्र १० हजार रुपैयाँका दरले जग्गा बिक्री गरेका थिए।
इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स, मेकानिकल, सिभिल र कम्प्युटर गरी पाँच विषयको पढाइ हुने इन्जिनियरिङ कलेज सञ्चालन हुने आश्वासन पाएपछि जलेश्वर नगरपालिकाभित्रका जलेश्वर, बजराही, रतबारा र बखरीका किसानले आफ्नो उब्जाऊ खेत सस्तो दरमै बिक्री गरेका थिए। मणिपाल एजुकेसन ग्रुपले जग्गादाता प्रत्येक किसानका एक सन्तानलाई निःशुल्क इन्जिनियरिङ पढाउने र रोजगारी दिने वचनबद्धताका साथ जग्गा खरिद गरेको स्थानीय दानीकान्त पाठकले बताए।
शिक्षाको हब बन्ने प्रलोभनमा परी कौडीको भाउमा जग्गा बेचेको तीन दशक बितिसक्दा पनि कलेज निर्माण तथा सञ्चालनको कुनै सुरसार नदेखिएको जग्गा बिक्रेता किसान हरिशचन्द्र ठाकुरले बताए।
प्रस्तावित मणिपाल इन्जिनियरिङ कलेज हरेक निर्वाचनमा महोत्तरी निर्वाचन क्षेत्र नं ३ का उम्मेदवारहरूको प्रमुख एजेन्डा बन्ने गर्छ, तर निर्वाचनपश्चात यो विषय ओझेलमा पर्ने गरेको छ। हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि यही नियति दोहोरिएको स्थानीय बताउँछन्।
भारतको बैङ्गलोरमा मुख्य कार्यालय रहेको मणिपाल एजुकेसन ग्रुपले २०५१ सालमा नेपाल सरकारसँग जलेश्वरमा इन्जिनियरिङ कलेज सञ्चालन गर्ने सम्झौता गरेको थियो। हाल बतास समूहअन्तर्गतको बापो होल्डिङ्सद्वारा सञ्चालित मणिपाल एजुकेसन ग्रुपले सो जग्गा ओगटेर राखेको छ, तर त्यहाँ इन्जिनियरिङ कलेज सञ्चालनका लागि कुनै काम अगाडि बढाइएको छैन।
कलेज निर्माण र सञ्चालनका लागि जग्गा बेचेका बजराही, रतबारा, बखरी र जलेश्वरका किसानले अब त्यहाँ मणिपालले कलेज नबनाउने हो भने घेरेको तारबार काटेर आफूहरूले नै जोतभोग गर्ने चेतावनी दिएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
