कालीगण्डकी करिडोरअन्तर्गत मुस्ताङको कागबेनी–छुसाङ सडकखण्डमा कालोपत्रसहितको स्तरोन्नति कार्यले गति लिएको छ भने आयोजनाले दुई वर्षभित्र काम सक्ने गरी निर्माणलाई तीव्रता दिएको छ।
मुस्ताङ– छिमेकी मुलुक चीन र भारतलाई जोड्ने कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम–कोरला सडक आयोजनाले मुस्ताङको कागबेनी–छुसाङ खण्डको स्तरोन्नति तथा कालोपत्र कार्यलाई तीव्र पारेको छ। हिउँदयामको अत्यधिक चिसो, हिमपात र गत फागुन २१ गतेको प्रतिनिधिसभा उपनिर्वाचनका कारण रोकिएको कोरला नाका जोड्ने कागबेनी–छुसाङ खण्डको स्तरोन्नतिलाई पुनः तीव्रता दिइएको हो।
नौ दशमलव आठ किलोमिटर लम्बाइ रहेको उक्त खण्डको स्तरोन्नति तीव्र पारिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ। आयोजना कार्यालयले मुस्ताङको थासाङ–४, घाँसाबाट कोरला नाका र मुक्तिनाथ जोड्ने गरी कागबेनीसम्मको करिब ९८ प्रतिशत सडक कालोपत्र सम्पन्न गरिसकेको छ।
नेपाल–चीन उत्तरी कोरला नाकासम्मको सडकलाई आवश्यक स्तरोन्नतिसहित कालोपत्र गर्ने आयोजनाको लक्ष्य छ। सोही लक्ष्यलाई अघि बढाउन गत वर्ष सङ्घीय सरकारले बजेट विनियोजन गरेको थियो।
मुस्ताङको कोरला नाका जोड्ने कागबेनी–छुसाङ खण्डको कालोपत्रसहित सडक विस्तारका लागि आयोजनाले गत वर्ष असार २६ गते टक्सार–इफ्फाटा/बुद्ध जेभी कन्ट्रक्सनसँग २८ करोड ८७ लाख ९६ हजार रुपियाँ लागतमा ठेक्का सम्झौता गरेको आयोजना कार्यालयले जनाएको छ। उक्त सडकलाई कालोपत्रसहित थप स्तरोन्नति गरी दुई वर्षभित्र सम्पन्न गर्ने अवधि तोकिएको छ।
ठेक्का सम्झौताअनुसार कागबेनी–छुसाङ सडक विसं २०८४ असार २४ गतेसम्म सम्पन्न गरिसक्नुपर्ने समयसीमा रहेको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिए। गत असारको अन्तिममा ठेक्का सम्झौता भएको उक्त सडकको स्तरोन्नति कार्य चालु आवको साउनदेखि सुरु गरिए पनि प्रतिकूल मौसम र निर्वाचनका कारण पाँच महिना रोकिएको उनले बताए।
आयोजना प्रमुख शर्माले हिउँदयाम सकिएर गर्मीयाम सुरु भएसँगै निर्माण कम्पनी सडक निर्माणको कार्यस्थलमा फर्किएको बताए। उनका अनुसार निर्माणाधीन कागबेनी–छुसाङ खण्डको हालसम्म २० प्रतिशत भौतिक प्रगति भएको छ। करिब ११ मिटर चौडा सडक रहने उक्त खण्डमा आठ मिटर चौडा कालोपत्र गरिने उनले जानकारी दिए।
कोरला नाका जोड्ने कागबेनी–छुसाङ सडकखण्डको बारागुङ मुक्तिक्षेत्र–३, ताङ्वे क्षेत्रमा सडक संरचनाको काम भइरहेको निर्माण कम्पनीका प्रतिनिधि सागर श्रेष्ठले जानकारी दिए। सडक स्तरोन्नतिका लागि उक्त खण्डमा पाँच हजार घनमिटर ग्याबिन वाल र दुई हजार घनमिटर रिटेनिङ वाल लगाउने कार्य सकिएको उनले बताए। हाल सडकको ग्रेड मिलाउने, आवश्यक स्थानमा ड्रेन निर्माण गर्ने, ग्याबिन वाल र रिटेनिङ वाल लगाउने लगायतका काम भइरहेका छन्।
इन्धनको मूल्य घटेर आपूर्तिमा सहज भएमा पाँच महिनाभित्र कागबेनी–तोङ्वेसम्मको सडकमा कालोपत्र सम्पन्न गर्ने लक्ष्य रहेको निर्माण कम्पनीका प्रतिनिधि श्रेष्ठले जानकारी दिए। उनका अनुसार कागबेनी–छुसाङ सडकको काम तोकिएको समयमा सम्पन्न गर्न दैनिक ८० जनाभन्दा बढी जनशक्ति परिचालन गरिएको छ।
“सडकको संरचना निर्माण तथा कालोपत्र गर्न आवश्यक उपकरण र क्रसरको व्यवस्था गरिसकेका छौँ, जतिसक्दो छिटो निर्माणलाई तीव्रता दिइनेछ”, प्रतिनिधि श्रेष्ठले भने, “हिउँदयाममा चिसोका कारण काम गर्न सकिँदैन, यहाँ काम गर्ने समय भनेको सात महिना मात्र हो।”
यहाँको बारागुङ मुक्तिक्षेत्र–३ स्थित कागबेनी–छुसाङ सडकखण्डमा गत असार र साउन महिनाको बाढीपहिरोले आंशिक क्षति पुर्याएको थियो। बाढीपहिरोले उक्त सडकको केही स्थान भासिएको छ भने केही स्थानमा सडकको बेसमा क्षति पुगेको छ।
नेपाल–चीन बहुचर्चित उत्तरी कोरला नाकासम्मको सडकलाई थप स्तरोन्नतिसहित कालोपत्र गर्ने लक्ष्यका साथ छुसाङ–घमी र घमी–कोरला खण्डको दुई चरणमा गरी प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कनसमेत सम्पन्न भइसकेको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत अर्थ मन्त्रालयले कोरला नाकासम्मको सडक कालोपत्रका लागि थप बजेट विनियोजन गरेमा उपल्लो मुस्ताङको सडकमार्ग निकै सहज हुने लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले उल्लेख गरे। आयोजनाले छुसाङ–कोरला सडकलाई कालोपत्रसहित स्तरोन्नति गर्न करिब पाँच अर्ब रुपियाँभन्दा बढी लागत लाग्ने अनुमान गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
