बीपी राजमार्ग एकतर्फी सञ्चालन, सावधानी अपनाउन आग्रह

रोशी खोलाले बगाएको डाइभर्सन मर्मतपछि बीपी राजमार्गमा एकतर्फी सवारी आवागमन शुरू भएको छ।

रामेछाप– बीपी राजमार्गअन्तर्गत रोशी खोलाले बगाएको डाइभर्सन मर्मत गरी आइतबारदेखि एकतर्फी रूपमा सवारी आवागमन सुचारु गरिएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेले सडक एकतर्फी मात्र सञ्चालनमा रहेकाले लेन अनुशासन कायम राख्दै ट्राफिक नियम पालना गरी सावधानीपूर्वक यात्रा गर्न यात्रुहरूलाई आग्रह गरेको छ। साथै, बाटोको अवस्थाबारे जानकारी लिन १०० र १०३ नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ।

बीपी राजमार्गअन्तर्गत कटुञ्जे–मङ्गलटार सडकखण्डको घुमाउनेलगायतका क्षेत्रमा रोशी खोलाले डाइभर्सन बगाएपछि सडक मर्मत गरी पूर्ण रूपमा सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

मर्मतका क्रममा खोलामै डाइभर्सन बनाएर यातायात सञ्चालन गरिएकाले सामान्य बाढी आउँदा समेत सडक क्षतिग्रस्त हुने समस्या देखिएको छ। गए राति खोलामा आएको बाढीले सडक पुनः बिगारेको थियो। बीपी राजमार्ग अवरुद्ध हुँदा काठमाडौँबाट उक्त मार्ग हुँदै पूर्वतर्फ आवतजावत गर्ने सवारीसाधन प्रभावित हुँदै आएका छन्।