इलाममा चियाको ‘फस्ट फ्लस’ टिपाई सुरु

पूर्वी नेपालको प्रमुख चिया उत्पादन क्षेत्र इलाममा यस वर्षको फस्ट फ्लस शुरू भएको छ। अनुकूल मौसमका कारण यस वर्ष चियाको उत्पादन र गुणस्तर राम्रो हुने अपेक्षा गरिएको छ।

इलाम– फागुन र चैत महिनामा भएको वर्षाले चियाका बोटमा नयाँ मुना राम्रोसँग पलाएका छन्। ‘फस्ट फ्लस’ सिजनमा उत्पादन हुने चिया गुणस्तरका हिसाबले उत्कृष्ट मानिने भएकाले यसलाई विशेष महत्त्वका साथ हेरिन्छ। कोमल पात र विशिष्ट सुगन्धका कारण अन्तर्राष्ट्रिय बजारमा यसको माग उच्च रहने गर्दछ।

null

उत्पादनको मात्रा कम भए पनि अन्य सिजनको तुलनामा बढी मूल्य पाइने भएकाले किसान र उद्योगीका लागि यो समय महत्त्वपूर्ण हुन्छ। चिया टिपाई शुरू भएसँगै जिल्लाका केही कारखानाले हरियो पत्ती प्रशोधन गर्न थालेका छन्।

null

इलाम अर्थोडक्स चिया उत्पादनका लागि अग्रणी जिल्ला हो। यहाँ वार्षिक करिब ६० लाख किलो तयारी चिया उत्पादन हुन्छ। जिल्लामा ठूला र साना गरी १०० भन्दा बढी चिया कारखाना सञ्चालनमा छन्।

null

केन्द्रीय चिया सहकारी संघका महासचिव रबिन राईका अनुसार करिब १२ हजार किसान चिया खेतीमा संलग्न छन्, जसले उत्पादन गरेको हरियो पत्ती कारखानाहरूमा बिक्री गर्छन्। इलाममा गोल्डन, गोल्डन फ्लस, सिल्भर, गोल्डन ब्ल्याक र ग्रिन टी लगायतका प्रकारका चिया उत्पादन हुन्छन्।