गाजा युद्धमा ३८ हजार महिला र बालिकाको मृत्यु: संयुक्त राष्ट्रसंघ

सन् २०२५ को अन्त्यसम्म गाजामा युद्धमा मारिएका ७१ हजार व्यक्तिमध्ये ३८ हजारभन्दा बढी महिला र बालिका रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ।

फाइल तस्वीर

सन् २०२५ को अन्त्यसम्ममा गाजा युद्धमा ३८ हजारभन्दा बढी महिला र बालिकाको मृत्यु भएको संयुक्त राष्ट्रसंघले शुक्रबार सार्वजनिक गरेको अनुमानित तथ्यांकमा जनाइएको छ। गाजामा अवस्थित प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार सन् २०२५ को अन्त्यसम्म मारिएका कुल ७१ हजार व्यक्तिमध्ये यो संख्या आधाभन्दा बढी हो।

“सन् २०२३ अक्टोबरदेखि सन् २०२५ डिसेम्बरको बीचमा गाजामा ३८ हजारभन्दा बढी महिला र बालिका मारिएका छन्, जुन इजरायली सेनाको हवाई र स्थल आक्रमणका कारण भएको हो,” संयुक्त राष्ट्रसंघीय महिला मामिला निकाय (यूएन वुमन)की प्रवक्ता सोफिया कलटोर्पले जेनेभामा आयोजित पत्रकार सम्मेलनमा भनिन्, “गाजा युद्धमा मारिएकामध्ये २२ हजारभन्दा बढी महिला र १६ हजारभन्दा बढी बालिका छन्। यसरी हेर्दा यो संख्या औसतमा दैनिक कम्तीमा ४७ महिला र बालिकाको मृत्यु हो।”

यूएन वुमनका अनुसार शवहरू अझै भग्नावशेषमा पुरिएको अवस्थामा भेटिने गरेका र रिपोर्टिङ प्रणालीसमेत सीमित रहेकाले युद्धमा मारिएका महिला तथा बालिकाको वास्तविक तथ्यांक योभन्दा अझ बढी हुन सक्छ। कलटोर्पले थपिन्, “गाजामा महिला र बालिकाको मृत्युको अनुपात यसअघिका द्वन्द्वमा भन्दा धेरै बढी छ।” यूएन वुमनको प्रतिवेदनअनुसार सन् २००८–२००९ को द्वन्द्वमा मारिनेमध्ये १५ प्रतिशत र सन् २०१४ को द्वन्द्वमा २२ प्रतिशत महिला तथा बालिका थिए।

यूएन वुमनका अनुसार यति ठूलो संख्यामा मृत्यु भइसकेपछि पनि बाँचेका महिला र बालिकाले दैनिक जीवनमा खतरा, भोकमरी, बारम्बारको विस्थापन र अत्यावश्यक सेवामा पहुँचको अभाव जस्ता चरम समस्याको सामना गरिरहेका छन्।

कलटोर्पले भनिन्, “गाजामा करिब ११ हजार महिला तथा बालिका विनाशकारी चोटपटकका कारण आजीवन अशक्तताको अवस्थामा बाँच्न बाध्य छन्।” उनले युद्धले प्यालेस्टिनी परिवारको संरचना नै परिवर्तन गरिदिएको उल्लेख गर्दै भनिन्, “दशौँ हजार परिवारले पुरुष अभिभावक गुमाएका छन्। अब महिलाहरूले बाध्यात्मक र चुनौतीपूर्ण अवस्थामा परिवारको जिम्मेवारी बहन गरिरहेका छन् र उनीहरू आयस्रोत, सहयोग वा अत्यावश्यक सेवाबिना परिवार पाल्न बाध्य छन्।”

कहालीलाग्दो अवस्था
द्वन्द्वका क्रममा झण्डै १० लाख महिला तथा बालिका बारम्बार विस्थापित भएका छन् भने करिब सात लाख ९० हजार महिलाले खाद्य असुरक्षाको संकटपूर्ण वा विनाशकारी स्तरको अनुभव गरिरहेका छन्। कलटोर्पले थनिन्, “फेब्रुअरी २८ मा इरानमा भएको अमेरिका–इजरायल आक्रमणसँगै सुरु भएको मध्यपूर्वको युद्धले सीमा नाका बन्द र मानवीय पहुँचमा अवरोध सिर्जना गर्दा गाजाको जनजीवन थप कष्टकर बनेको छ।”

सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गरेपछि इजरायलले गाजामा व्यापक हवाई तथा स्थल आक्रमण शुरू गरेको थियो। दुई वर्षभन्दा बढीको युद्धपछि सन् २०२५ अक्टोबरमा इजरायल र हमासबीच एक कमजोर युद्धविराम घोषणा भएको थियो। हमासको नियन्त्रणमा रहेको र संयुक्त राष्ट्रसंघले विश्वसनीय मानेको गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार युद्धविराम लागू भएयता पनि कम्तीमा ७६६ प्यालेस्टिनीको मृत्यु भइसकेको छ। युद्धविरामका बाबजुद हालका महिनाहरूमा महिला र बालिकाको हत्या रोकिएको छैन।