बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना शुरू भएको दुई दशक बितिसक्दा हालसम्म ४६ प्रतिशत भौतिक प्रगति मात्र हासिल भएको छ, जबकि यस अवधिमा २३ अर्ब ७७ करोड २९ लाख रुपैयाँ खर्च भइसकेको छ।
बाँके– बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना शुरू भएको दुई दशक बितिसक्दा हालसम्म ४६ प्रतिशत भौतिक प्रगति हासिल भएको छ। आर्थिक वर्ष २०६१/६२ मा स्थापना भई सोही आवदेखि निर्माण शुरू भएको आयोजनाको हालसम्मको प्रगति ४६ प्रतिशत मात्र छ।
सिक्टा सिँचाइ आयोजनाका निर्देशक राजु आचार्यले आयोजना शुरू भएदेखि हालसम्मको कुल खर्च २३ अर्ब ७७ करोड २९ लाख रुपैयाँ पुगेको जानकारी दिए। उनका अनुसार यो कुल गुरुयोजनाको तुलनामा ४४.९५ प्रतिशत वित्तीय र ४६ प्रतिशत भौतिक प्रगति हो।
चालु आवका लागि स्वीकृत गुरुयोजनाबमोजिम ३ अर्ब ३० करोड ५९ लाख रुपैयाँ बजेट प्रस्ताव गरिएकामा आयोजनालाई १ अर्ब ५७ करोड रुपैयाँ मात्र प्राप्त भएको आचार्यले उल्लेख गरे। “चालु आवको चैत मसान्तसम्मको विवरणअनुसार कुल ८५ करोड ७७ लाख ९८ हजार ३११ रुपैयाँ खर्च भइसकेको छ”, उनले भने, “यो अवधिको तथ्याङ्कअनुसार आयोजनाले ७६.३१ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ भने वित्तीय प्रगति ५४.४८ प्रतिशत छ।”
राप्तीसोनारी गाउँपालिका–२, अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी सञ्चालन गरिएको आयोजनाले जिल्लाको ४२ हजार ७६६ हेक्टर जमिनमा सिँचाइ पुर्याउने लक्ष्य लिएको छ। आव २०८२/८३ को चैत मसान्तसम्म २४ हजार हेक्टर जमिनमा प्रत्यक्ष सिँचाइ सुविधा पुगेको निर्देशक आचार्यले जानकारी दिए।
आयोजनाका सूचना अधिकारी एवं सिनियर डिभिजनल इन्जिनियर मनोजकुमार साहका अनुसार बहुवर्षीय आयोजनाका रूपमा सञ्चालित यो आयोजना शुरूमा आव २०७०/७१ को अन्त्यमा सम्पन्न गर्ने गरी १२ अर्ब ८० करोड रुपैयाँमा विसं २०६४ मङ्सिर ३ गते स्वीकृत भएको थियो। उक्त गुरुयोजनाअन्तर्गत तीन चरणमा आयोजना सम्पन्न गर्ने कल्पना गरिएकामा पहिलो र दोस्रो चरणसम्मका कार्यका लागि १२ अर्ब ८० करोडको अनुमान गरिएको थियो।
तेस्रो चरणको लागत समावेश नभएको अवस्थामा राप्ती नदीको पूर्वतर्फको ९ हजार हेक्टरमा सुविधा पुग्ने गरी पूर्वी मूल नहर निर्माण तथा अन्य आवश्यक संरचना समावेश गरेर आव २०७६/७७ सम्म सम्पन्न गर्ने गरी २५ अर्ब २ करोड रुपैयाँको संशोधित गुरुयोजना आव २०७१/७२ मा स्वीकृत भएको थियो।
आव २०७६/७७ मा सम्पूर्ण कार्य सम्पन्न गर्ने लक्ष्यसहितको उक्त गुरुयोजनाअनुसार लक्ष्य हासिल नभएपछि सोही लागतभित्र रही अद्यावधिक खरिद गुरुयोजनाको म्याद थपको प्रस्ताव पेस गर्ने निर्णय भएको थियो। त्यसपछि आव २०७८/७९ को असार मसान्तमा आयोजनाको प्रगति र बाँकी कार्यको विवरणसहित विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरियो। यसरी अद्यावधिक गरिएको संशोधित गुरुयोजनाबमोजिम ५२.६४ अर्ब रुपैयाँ लागत अनुमानमा आव २०८९/९० सम्म सम्पूर्ण काम सम्पन्न गर्ने गरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट विसं २०७९ भदौमा स्वीकृति प्राप्त भएको सूचना अधिकारी साहले जानकारी दिए।
सूचना अधिकारी साहका अनुसार यो आयोजनाबाट बाँकेका १७ हजार परिवारका ४ लाख किसान लाभान्वित हुनेछन्। आयोजनाको अनुमानित आन्तरिक प्रतिफल १८ प्रतिशत छ भने बाली सघनता १६८ प्रतिशतबाट २४२ प्रतिशतमा पुर्याउने लक्ष्य छ।
आयोजनाका इन्जिनियर तनोज दुलालका अनुसार पश्चिमी र पूर्वी गरी दुई मुख्य नहरबाट पानी वितरण गरी सिँचाइको व्यवस्था गरिएको छ। पश्चिमी मूल नहरबाट ३३ हजार ७६६ हेक्टर र पूर्वी नहरबाट ९ हजार हेक्टर जमिनमा सिँचाइ गर्ने लक्ष्य छ। नहर संरचनाका लागि अधिग्रहण गर्नुपर्ने ४४० हेक्टरमध्ये हालसम्म १८३.२५ हेक्टर जमिन अधिग्रहण गरिएको छ। चालु आवमा पश्चिम मूल नहरको मुख्य डुडुवा शाखाको लागत अनुमान सम्पन्न भई ठेक्का आह्वान भइसकेको छ।
आयोजनाको मेरुदण्ड मानिएको पश्चिमतर्फको ३३ हजार ७६६ हेक्टर सिञ्चित क्षेत्रमध्ये करिब १६ हजार हेक्टरलाई लक्षित गरी डुडुवा शाखा नहर निर्माण भइरहेको छ। हालसम्म करिब २५ प्रतिशत प्रगति हासिल भएको छ भने डुडुवा क्यापको निर्माण पूर्ण रूपमा सम्पन्न भइसकेको छ। आयोजनाले सिधनिया, प्रसेनीपुर र अकलघरवा शाखा नहरमा ठेक्का सम्झौता गरी निर्माणलाई तीव्रता दिएको छ। गुरुवागाउँ र अकलघरवाका उपशाखा तथा पूर्वी मूल नहरका बाँकी कामका लागि पूर्वतयारी भइरहेको इन्जिनियर दुलालले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
