१२ सय वर्ष पुरानो इतिहास बोकेको क्व्होलासोथारको संरक्षण र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसाथ तमु प्येल्हु संघले स्थलगत अध्ययनसहित विशेष सक्रियता बढाएको छ।
गण्डकी– तमु समुदायको १२ सय वर्ष अघिको इतिहास जोडिएको क्व्होलासोथारको ऐतिहासिकता उजागर गर्न तमु समुदायले सक्रियता बढाएका छन्। ऐतिहासिक स्थल भएर पनि यसको उजागर र प्रवर्द्धन हुन नसकेको भन्दै तमु समुदायसम्बद्ध संघसंस्थाले विशेष चासो देखाएका हुन्।
ऐतिहासिकताको उजागर गर्दै यसको संरक्षण, प्रचारप्रसार र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ विभिन्न प्रयास भइरहेको अवस्थामा ‘तमु प्येल्हु संघ युके’को टोलीले आइतबारदेखि पोखराबाट लमजुङको भुजुङ हुँदै त्यसतर्फको यात्रा शुरू गरेको संघका अध्यक्ष डेमबहादुर गुरुङले जानकारी दिएका छन्। तमु जातिको पहिचान एवं अस्तित्वसँग जोडिएको क्व्होलासोथारको महत्त्व र गरिमालाई अझ उँचो बनाउने उद्देश्यसहित ५५ सदस्यीय टोली त्यसतर्फ लागेको उनले बताए।
टोलीले स्थलगत भ्रमणपश्चात् त्यहाँको अवस्थाबारे चित्रण गर्दै तमु प्येल्हु संघ केन्द्रीय समितिमा प्रतिवेदन प्रस्तुत गर्ने संघ युकेका सचिव भेग गुरुङले जानकारी दिए। उनले क्व्होलासोथारलाई पुर्खाहरूले ‘क्होला सोँप्रे ट्हो’का नामले पनि चिन्ने गरेको बताउँदै यसको प्राचीन मौलिकता उजागर गर्ने लक्ष्य राखिएको उल्लेख गरे।
कास्की र लमजुङको सिमानामा रहेको ‘क्होला सोँप्रे ट्हो’ तमु धर्मगुरुहरूले वाचन गर्ने बोँन धार्मिक ग्रन्थमा उल्लेख छ। सचिव गुरुङका अनुसार सन् २००० मा क्याम्ब्रिज युनिभर्सिटी र पुरातत्व विभागले यस स्थलका बारेमा जानकारी लिन पहिलोपटक उत्खनन शुरू गरे पनि त्यसले अन्तिम रूप प्राप्त गर्न सकेको थिएन।
क्व्होलासोथारको ऐतिहासिकता र महत्त्व उजागर गर्न शुरू गरिएको भ्रमणका क्रममा प्राप्त जानकारी र विवरणलाई समेटेर प्रतिवेदन तयार पारिने संघका केन्द्रीय महासचिव हर्क गुरुङले बताए। ती प्रतिवेदन एकीकृत गरी यस क्षेत्रको प्रवर्द्धन र विकासका लागि योजनासहित सरोकारवाला निकायहरूको ध्यानाकर्षण गराइने उनले उल्लेख गरे।
संघका केन्द्रीय अध्यक्ष ओमबहादुर गुरुङले क्व्होलासोथारको संरक्षण, प्रचारप्रसार र प्रवर्द्धन गर्न सकेमा यसलाई नेपालको महत्त्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने धारणा राखे। हालै तमु प्येल्हु संघ हङकङको टोलीले पनि उक्त क्षेत्रको स्थलगत अध्ययन तथा अवलोकन गरिसकेको छ।
गण्डकी प्रदेशको लमजुङ जिल्लामा पर्ने क्व्होलासोथार गाउँपालिका उत्तर-पूर्वमा मर्स्याङ्दी गाउँपालिका, पश्चिममा कास्कीको सिमाना, दक्षिण-पूर्वमा बेँसीसहर नगरपालिका र दक्षिण-पश्चिममा मध्यनेपाल गाउँपालिकाको बीचमा अवस्थित छ।
क्व्होलासोथार गाउँपालिकामा प्राकृतिक सुन्दरताले भरिएका पर्यटकीय सम्भावना बोकेका थुप्रै क्षेत्र रहेकाले यहाँको पर्यटन प्रवर्द्धन गर्नु जरुरी रहेको संघको भनाइ छ। क्व्होलासोथारबाट देखिने हिमाली शृङ्खलाका साथै यहाँ रहेका ऐतिहासिक र पुरातात्त्विक सम्पदाको प्रचारप्रसार गर्नुपर्नेमा संघले जोड दिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
