काठमाडौँ उपत्यका विकास प्राधिकरणका पूर्वआयुक्त तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ उपत्यका विकास प्राधिकरणका तत्कालीन विकास आयुक्त भाइकाजी तिवारीविरुद्ध १० करोड ५४ लाख रुपैयाँभन्दा बढी गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।

फाइल तस्वीर

काठमाडौँ— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ उपत्यका विकास प्राधिकरणका तत्कालीन विकास आयुक्त भाइकाजी तिवारीविरुद्ध १० करोड ५४ लाख रुपैयाँभन्दा बढी गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ। सार्वजनिक पदमा रहँदा पदीय मर्यादाविपरीत कार्य गरी अस्वाभाविक सम्पत्ति जोडेको भन्दै अख्तियारले बिहीबार आरोपपत्र दायर गरेको हो।

अख्तियारले तिवारीको सेवा प्रवेश २०४४ भदौ १९ गतेदेखि अवकाश भएको २०७८ वैशाख ९ गतेसम्मलाई जाँच अवधि कायम गरी अनुसन्धान गरेको थियो। सो अवधिमा उनको वैध आय १४ करोड ५१ लाख ९१ हजार ३५६ रुपैयाँ देखिएको छ भने खर्च तथा लगानी २५ करोड ६ लाख ८७ हजार २२७ रुपैयाँ पुगेको अख्तियारको विज्ञप्तिमा उल्लेख छ।

कुल आय र व्ययको तुलना गर्दा १० करोड ५४ लाख ९५ हजार ८७१ रुपैयाँको स्रोत नखुलेको र यो सम्पत्ति उनको हैसियतभन्दा अस्वाभाविक देखिन आएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

अख्तियारका अनुसार तिवारीले गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति लुकाउन श्रीमती मिनादेवी तिवारी र छोरी मीरा तिवारीको नाममा समेत लगानी गरेको भेटिएको छ। अनुसन्धानका क्रममा उनले हीराको हार खरिद, छोरीको नाममा घर खरिद र विभिन्न कम्पनीमा शेयर लगानी गरेको समेत खुलेको छ।

अख्तियारले तिवारीसँग १० करोड ५४ लाख ९५ हजार ८७१ रुपैयाँ बिगो मागदाबी गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र बिगोबमोजिम जरिबानाको सजाय माग गरेको छ। साथै, गैरकानूनी रूपमा आर्जन गरिएको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि उनकी श्रीमती र छोरीलाई समेत प्रतिवादी बनाइएको छ।

तिवारीले वार्षिक रूपमा बुझाउने सम्पत्ति विवरणमा समेत वास्तविक तथ्य लुकाएर झुट्टा विवरण पेश गरेको पुष्टि भएको भन्दै अख्तियारले उनीमाथि थप सजायको मागसमेत  गरेको छ।