काठमाडौँ उपत्यकामा आजदेखि साझाको रात्रिकालीन बससेवा

साझा यातायातले काठमाडौँ उपत्यकाका विभिन्न स्थानीय तहको सहयोगमा आजदेखि राति ११ बजेसम्मका लागि रात्रिकालीन विद्युतीय बससेवा सञ्चालनमा ल्याउन लागेको छ।

तस्वीर : नेपाल न्यूज बैंक

काठमाडौँ– साझा यातायातले काठमाडौँ उपत्यकामा रात्रिकालीन बससेवा सञ्चालन गर्ने भएको छ। काठमाडौँ, ललितपुर महानगरपालिका, बुढानीलकण्ठ नगरपालिका र चन्द्रागिरि नगरपालिकाको सहयोगमा यो सेवा सञ्चालन हुन लागेको हो।

बससेवा आज (१ वैशाख) देखि बेलुका ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ। बसका लागि दुईवटा रुट निर्धारण गरिएको छ। पहिलो रुट ललितपुरको लगनखेल, पाटन अस्पताल, अल्का, नर्भिक, प्रसूति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति, टिचिङ अस्पताल र गंगालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म हुनेछ।

यस्तै, थानकोटबाट सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन र तीनकुने हुँदै अन्तर्राष्ट्रिय विमानस्थलसम्म अर्को रुटमा रात्रिकालीन विद्युतीय बस सञ्चालन हुनेछ। फर्किने बस विमानस्थलबाट तीनकुने, मीनभवन, बबरमहल र थापाथली हुँदै पुनः थानकोट पुग्नेछ। नयाँ सडक (न्युरोड) क्षेत्रलाई मुख्य ट्रान्जिट विन्दु बनाइनेछ, जहाँबाट यात्रुहरूले रुट परिवर्तन गर्न सक्नेछन्।

रात्रिकालीन सेवामा यात्रुको सुरक्षालाई ध्यानमा राख्दै प्रत्येक बसमा चारवटा सीसीटीभी क्यामेरा जडान गरिएको छ। साथै, काठमाडौँ महानगरपालिकाले प्रत्येक बसमा एकजना नगर प्रहरी खटाउनेछ। रात्रिकालीन बस सेवाले विशेषगरी श्रमिक, महिला तथा बेलुका अबेरसम्म काम गर्ने वर्गलाई सुरक्षित र सहज आवागमनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।