हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

काठमाडौँ– हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ। बाँकी हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ र तराई भूभागमा मौसम मूख्यतया सफा रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली भूभागमा साधारणतया बादल लाग्ने, पहाडी भूभागमा आंशिक बादल लाग्ने र तराई भूभागमा मौसम मूख्यतया सफा रहनेछ। कोशी प्रदेशको पहाडी र हिमाली भूभाग लगायत बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

आज राति देशका हिमाली भूभागमा आंशिक बादल लाग्ने र पहाड र तराई भूभागमा मौसम मूख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।