प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक

भ्रष्टाचार निवारण ऐनको व्यवस्थाअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री र मन्त्रीहरूले बुझाएको सम्पत्ति विवरण आइतबार सार्वजनिक गरेको छ।

काठमाडौँ– प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्रीसहित मन्त्रीहरूले पेस गरेको विवरण आइतबार सार्वजनिक गरेको हो।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० बमोजिम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाइएको विवरण सरकारको निर्णयअनुसार नै सार्वजनिक गरिएको कार्यालयले जनाएको छ। कार्यालयका उपसचिव विष्णुप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिअनुसार प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक वेबसाइटमा हेर्न सकिनेछ।

कानुनी व्यवस्थाअनुसार सार्वजनिक पद धारण गरेका व्यक्तिले पद बहाल गरेको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्छ। त्यसपछि प्रत्येक आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र आफ्नो र परिवारको नाममा रहेको सम्पत्ति विवरण अनिवार्य रूपमा पेस गर्नुपर्ने प्रावधान छ। सोही प्रावधानलाई कार्यान्वयन गर्दै मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको हो।

हेर्नुहोस् मन्त्रीहरूको सम्पति विवरण