अमेरिकी र इरानी टोलीसँग प्रधानमन्त्री सरिफको छुट्टाछुट्टै भेट

पश्चिम एसियामा जारी द्वन्द्व अन्त्यका लागि इस्लामावादमा हुने वार्ताअघि पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले अमेरिकी र इरानी दुवै प्रतिनिधिमण्डलसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन्।

पाकिस्तानी प्रधानमन्त्री कार्यालयले जारी गरेको यस तस्वीरमा, अमेरिकी उपराष्ट्रपति जेडी भान्स (बायाँ) ले शनिबार, ११ अप्रिल २०२६ मा पाकिस्तानको इस्लामाबादमा भेटवार्ताअघि पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफसँग हात मिलाउँदै।

इस्लामावादमा जारी उच्चस्तरीय वार्ताका क्रममा पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले अमेरिकी र इरानी दुवै पक्षसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन्।

इरान सरकारको एक उच्चस्तरीय प्रतिनिधिमण्डलले शनिबार प्रधानमन्त्री सरिफसँग भेटवार्ता गरेको छ। उक्त भेटमा अमेरिकी उपराष्ट्रपति जेडी भान्सको नेतृत्वमा रहेको टोलीसँग पश्चिम एसियामा युद्ध अन्त्यका लागि हुने योजनाबद्ध वार्ताका शर्तहरूबारे छलफल भएको छ।

इस्लामावादको सेरेना होटलमा पहिलो चरणको वार्ता चलिरहँदा इरानी सञ्चारमाध्यमले प्रधानमन्त्री सरिफसँगको बैठकपछि मात्रै अमेरिकी पक्षसँग प्रत्यक्ष वार्ता गर्ने वा नगर्ने भन्ने निर्णय हुने उल्लेख गरेका छन्। इरानले यसअघि नै स्थायी युद्धविरामका लागि रोक्का गरिएको आफ्नो सम्पत्ति फुकुवा हुनुपर्ने र लेबनानमा हिजबुल्लाहमाथि भइरहेको इजरायली आक्रमण अन्त्य हुनुपर्ने अडान राखेको थियो।

तर, अमेरिकी उपराष्ट्रपति भान्सले भने रोक्का गरिएको इरानी सम्पत्ति फुकुवाको विषय इस्लामावाद वार्ताको कार्यसूची (एजेन्डा) मा नरहेको स्पष्ट पारेका छन्।

संसदीय सभामुख मोहम्मद बाघेर गालिबाफको नेतृत्वमा रहेको इरानी प्रतिनिधिमण्डललाई पाकिस्तानका शक्तिशाली सेना प्रमुख असिम मुनिरले स्वागत गरेपछि दुवै पक्ष वार्ता स्थलमा पुगेका थिए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सुमधुर व्यक्तिगत सम्बन्ध रहेका जनरल मुनिरले उपराष्ट्रपति भान्सलाई पनि नुर खान हवाई अड्डामा विशेष सम्मानका साथ स्वागत गरेका थिए। उक्त अवसरमा अमेरिकी विशेष दूत स्टिभ विटकोफ र ट्रम्पका ज्वाइँ जारेड कुश्नर पनि उपस्थित थिए।

युद्धरत पक्षहरू अझै पनि प्रतिबन्ध, लेबनानमा युद्धविराम सम्झौताको पालना र रणनीतिक 'स्ट्रेट अफ हर्मुज' खोल्ने जस्ता प्रमुख मुद्दाहरूमा निकै टाढा देखिएका छन्। उनीहरूले एक–अर्काप्रति रहेको आपसी शङ्का लुकाउने कुनै प्रयास समेत गरेनन्।

यसैबीच, प्रधानमन्त्री सरिफले शनिबार नै अमेरिकी उपराष्ट्रपति भान्ससँग पनि भेटवार्ता गरेका छन्। पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार सरिफले यस क्षेत्रमा दिगो शान्तिका लागि दुवै पक्षलाई आवश्यक सहयोग गर्न पाकिस्तान तत्पर रहेको बताएका छन्।

भान्ससँगको वार्तामा अमेरिकी दूत स्टिभ विटकोफ र जारेड कुश्नर सहभागी थिए भने पाकिस्तानका तर्फबाट विदेशमन्त्री इशाक डार र गृहमन्त्री मोहसिन नकवी सहभागी थिए। पाकिस्तानले सार्वजनिक गरेको फुटेजमा सरिफले भान्सलाई स्वागत गरेको र दुई देशका झन्डासहित तस्बिर खिचिएको देखिन्छ।

अमेरिका र इरानी प्रतिनिधिमण्डलबीच वार्ताको ढाँचा (प्रत्यक्ष वा अप्रत्यक्ष) अझै स्पष्ट हुन सकेको छैन। विगतमा तेहरान र वासिङ्टनले सन्देश आदानप्रदान गर्न मध्यस्थकर्ताहरूको प्रयोग गरी अप्रत्यक्ष वार्ता विधि अपनाउँदै आएका थिए।