उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी सांसद रुबीकुमारी ठाकुर निर्वाचित भएकी छिन्।

काठमाडौँ – प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी सांसद रुबीकुमारी ठाकुर निर्वाचित भएकी छिन्। शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा उनलाई उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको सभामुख डोलप्रसाद अर्यालले जानकारी दिए।

ठाकुरलाई उपसभामुख बनाउन श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रस्ताव पेस गरेका थिए भने अशोककुमार चौधरी र अम्बिकादेवी सङ्ग्रौलाले उक्त प्रस्तावलाई समर्थन गरेका थिए। छलफलका क्रममा नेपाली कांग्रेसकी बासना थापा, नेकपा (एमाले)का मोहम्मद इस्तियाक राई र नेपाली कम्युनिस्ट पार्टीका रमेश मल्लले वर्तमान राजनीतिक प्रणालीको पक्षधर तथा मधेशी समुदायको उम्मेदवार भएकाले ठाकुरलाई आफ्नो समर्थन रहने बताएका थिए।

रुबीलाई उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा २२९ सांसदले मतदान गरेका थिए। उक्त प्रस्तावको विपक्षमा ५ सांसदले मतदान गरे भने २२ सांसदले पक्ष र विपक्ष कतै पनि मतदान गरेनन्। उक्त प्रस्तावमा मतविभाजन गर्दा प्रतिनिधिसभा बैठकमा २५६ सांसद उपस्थित थिए।

यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट सरस्वती लामालाई उपसभामुख बनाउन पेस गरिएको प्रस्ताव भने अस्वीकृत भएको थियो। राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले लामालाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव राखेका थिए, जसमा ताहिर अलि भाट, खुश्बु ओली र भरत गिरीले समर्थन गरेका थिए।

सभामुख अर्यालका अनुसार लामाको पक्षमा ५ मत मात्र परेको थियो। उनको विपक्षमा २१५ मत र 'मत दिन्न' भन्नेमा ३७ मत रहेकाले उम्मेदवारी अस्वीकृत भएको हो।

उपसभामुखमा निर्वाचित ठाकुर श्रम संस्कृति पार्टीबाट समानुपातिक प्रणालीमार्फत सांसद बनेकी थिइन्। उनले अब प्रतिनिधिसभाको रिक्त उपसभामुखको जिम्मेवारी सम्हाल्ने छिन्।