पश्चिम एसिया द्वन्द्व: खाडी मुलुकमा २८ नेपाली घाइते

परराष्ट्र मन्त्रालयले अमेरिका, इजरायल र इरानबीचको द्वन्द्वका कारण खाडी मुलुकमा २८ नेपाली घाइते भएको जनाएको छ।

काठमाडौँ– अमेरिका, इजरायल र इरानबीचको द्वन्द्वका कारण खाडी मुलुकमा २८ जना नेपाली घाइते भएका छन्। तीमध्ये २७ जनाको अवस्था सामान्य रहेको परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ।

द्वन्द्वसम्बन्धी फोटो र भिडियो सामाजिक सञ्जालमा राखेपछि ११ नेपाली पक्राउ परेको पनि शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिए। उनीहरूले डर र त्रास फैलाउने सामग्री प्रसारण गरेपछि स्थानीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएका हुन्।

प्रवक्ता क्षेत्रीले भने, “नेपालले अमेरिका र इरानबीच जारी द्वन्द्वलाई नजिकबाट नियालिरहेको छ। मध्यपूर्वी देशमा जारी द्वन्द्वका कारण खाडी मुलुकमा घाइते हुने नेपालीको सङ्ख्या २८ पुगेको छ। ११ जना नेपाली पक्राउ परेका छन्। द्वन्द्वसम्बन्धी फोटो र भिडियोमार्फत डर र त्रास फैलाउने सामग्री सामाजिक सञ्जालमा हालेकाले उनीहरू पक्राउ परेका हुन्।”

परराष्ट्र मन्त्रालयले युद्धसम्बन्धी संवेदनशील फोटो र भिडियो सामाजिक सञ्जालमा नहाल्न विदेशमा रहेका नेपालीहरूलाई आग्रह गरेको छ।