संसद् अधिवेशन शुक्रबार रातिदेखि अन्त्य हुने

मन्त्रिपरिषद्‍को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको चालु अधिवेशन शुक्रबार मध्यरातदेखि अन्त्य गर्ने निर्णय गरेका छन्।

फाइल तस्वीर

काठमाडौँ— राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको चालु अधिवेशन चैत २७ गते शुक्रबार राति १२:०० बजेदेखि लागू हुने गरी अन्त्य गर्ने निर्णय गरेका छन्।

नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्‍को चैत २४ गतेको निर्णय र सिफारिसमा अधिवेशन अन्त्य गर्ने निर्णय गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

चैत १९ गतेदेखि दुवै सदनको अधिवेशन प्रारम्भ भएको थियो।

प्रधानमन्त्रीलाई नै श्रममन्त्रीको कार्यभार
त्यस्तै, राष्ट्रपति पौडेलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कार्यभार प्रधानमन्त्री बालेन्द्र शाहलाई नै तोकी मौजुदा मन्त्रिपरिषद्‍मा हेरफेर गरेका छन्।

राष्ट्रपतिको कार्यालयका अनुसार प्रधानमन्त्री शाहको सिफारिसमा चैत १३ गते गठित मन्त्रिपरिषद्‍मा उक्त हेरफेर गरिएको हो। प्रधानमन्त्री शाहले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सिफारिसमा श्रममन्त्री दीपककुमार साहलाई आज पदमुक्त गरेका थिए। योसँगै मन्त्रिपरिषद्‍मा अब १४ सदस्य कायम भएका छन्।