भेपमार्फत सुन तस्करी प्रकरण: पूर्वसभामुख महरासहित २८ जनाविरुद्ध मुद्दा

भेपमार्फत सुन तस्करी प्रकरणमा संलग्न रहेको अभियोगमा अख्तियारले पूर्वसभामुख कृष्णबहादुर महरा र भन्सारका कर्मचारीसहित २८ जनाविरुद्ध साढे ७ करोड रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ।

फाइल तस्वीर

काठमाडौँ— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय चुरोट (भेप) भित्र लुकाएर ल्याएको सुन तस्करी र त्यसको अवैध बिक्रीमा संलग्न रहेको अभियोगमा पूर्वसभामुख कृष्णबहादुर महरा र त्रिभुवन विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार प्रशासक अरुण पोखरेलसहित २८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले बिहीबार दर्ता गरेको आरोपपत्रमा प्रतिवादीहरूविरुद्ध सात करोड ७८ लाख ६८ हजार ९५ रुपैयाँ १९ पैसा बिगो कायम गरी कैद र जरिबानाको मागदाबी गरिएको छ।

२०७९ पुस १० गते चिनियाँ नागरिक लि हाङ सोङले फ्लाई दुबईमार्फत ल्याएका ७३० थान भेपभित्र करिब ८.४८ किलो सुन लुकाइएको पाइएको थियो। उक्त सुन बरामद गरी कानूनी प्रक्रिया अघि बढाउनुको सट्टा भन्सारका कर्मचारी र बिचौलियाको मिलेमतोमा गोदामबाटै साटफेर गरी बिक्री गरिएको अनुसन्धानबाट खुलेको छ। विमानस्थल भन्सारका कर्मचारीले एक्सरे स्क्रिनमा शंकास्पद वस्तु देखिएपछि 'रेड च्यानल' लेखे पनि बदनियतपूर्वक वस्तु जाँच नगरी जफतको नाटक गरी पछि साटेर हिनामिना गरेको अख्तियारको अनुसन्धानले देखाएको छ।

उक्त सुन साटफेर गरी भारतीय नागरिकलाई बिक्री गरिएको र त्यसबाट प्राप्त रकम विभिन्न व्यक्तिको खातामा जम्मा गरी सम्पत्ति रूपान्तरण गरिएको पाइएको छ। भ्रष्टाचारबाट आर्जित अवैध सम्पत्ति व्यवस्थापनका लागि डेक्स्टर ट्राभल्स एन्ड टुर्स प्रालिलगायत विभिन्न व्यक्तिको खाता प्रयोग गरिएको र जग्गा खरिदमा समेत लगानी गरिएको भेटिएको हो।

यस प्रकरणमा अख्तियारले प्रतिवादी बनाएकाहरूमा तत्कालीन प्रमुख भन्सार प्रशासक पोखरेलसहित, प्रमुख भन्सार अधिकृतहरू मुक्तिप्रसाद श्रेष्ठ र अम्बिकाप्रसाद खनाल तथा भन्सार अधिकृतहरू रमेशकुमार खतिवडा र सुबेन्द्र श्रेष्ठ रहेका छन्।

त्यस्तै, नायब सुब्बाहरू सुवर्णाप्रभा केसी, भुवनराज घिमिरे, उमेशप्रसाद कोइराला, रेवन्त खड्का र मधुसुदन पोखरेलले पदीय मर्यादाविपरीत सुन चोरी र साटफेरमा सहयोग गरेको अख्तियारको ठहर छ। प्रमुख प्रशासक पोखरेलले सार्वजनिक संस्थाको नेतृत्वमा रहेर भ्रष्टाचार गरेको भन्दै उनलाई थप सजायको समेत माग गरिएको छ।

त्यस्तै, पूर्वसभामुख महरा र उनका छोरा राहुल भनिने रेशम महरालाई पनि प्रतिवादी बनाइएको छ। उनीहरूले चिनियाँ तस्करहरूसँग मिलेर अवैध लाभ लिन खोजेको र प्रमाण लोप गर्न भूमिका खेलेको दाबी गरिएको छ। अन्य प्रतिवादीहरूमा चिनियाँ नागरिक लि हाङ सोङ र दाओजिन वाङ, बेल्जियमका दावा छिरिङ र भारतीय नागरिक साहेवराव पाण्डुरङ मरगले रहेका छन्।

साथै, सुरक्षा गार्ड निर्मलकुमार विक, लोकेन्द्रकुमार पौडेल, दिपेश बस्नेत, गोपाल सुवेदी, दिनेश बस्नेत, वेदप्रकाश अग्रवाल, रामकेशव थापा क्षेत्री, अमृत कार्की, निमा गुरुङ, प्रेरणा थापा, ललिता थापा, दीपिका थापा र डेक्स्टर ट्राभल्स एन्ड टुर्स प्रालिविरुद्ध पनि मुद्दा दायर भएको छ।