पहाडी र हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

कोशी प्रदेशसहित देशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।

काठमाडौँ- नेपालमा हाल पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर साधारणतया बादल लागेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा, कोशी प्रदेशका पहाडी भूभागसहित कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा तथा मधेश प्रदेशका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

त्यस्तै, आज राति कोशी प्रदेशलगायत देशका हिमाली भूभागमा साधारणतया बादल लाग्ने छ भने बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्ने तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा तथा बाँकी हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।