महोत्तरीमा दुई मोटरसाइकल ठोक्किएर आगो लाग्दा ३ विद्यार्थीको मृत्यु

महोत्तरीको जलेश्वर–बर्दिबास सडकखण्डअन्तर्गत बथनाहामा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन जना विद्यार्थीको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

फाइल तस्वीर

जलेश्वर– बर्दिबास सडकखण्डको बथनाहामा मंगलबार बिहान दुई मोटरसाइकल एकापसमा ठोक्किएपछि भएको आगलागीमा परी तीन जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ।

मृत्यु हुनेमा जलेश्वर नगरपालिका–६ बस्ने २० वर्षीय सुभाष दास र २० वर्षीय रवि दास तथा एकडारा गाउँपालिका–३ बस्ने २० वर्षीय अभिषेक मण्डल रहेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र भट्टका अनुसार मृतकका आफन्तले शव पहिचान गरेपछि उनीहरूको सनाखत भएको हो।

सोही घटनामा अन्य तीन जना गम्भीर घाइते भएका छन्। घाइते हुनेहरूमा जलेश्वर नगरपालिका–६ का १९ वर्षीय रोहित दास, सोही स्थानका १९ वर्षीय अभय कापर र एकडारा गाउँपालिका–५ बथनाहाका २० वर्षीय अजय कापर रहेका छन्।

प्रहरी प्रवक्ता भट्टका अनुसार घाइतेहरूको अवस्था चिन्ताजनक रहेको र उनीहरूको उपचार भइरहेको छ। तीव्र गतिका कारण मोटरसाइकल ठोक्किएर तत्कालै आगलागी भएको प्रारम्भिक अनुसन्धानले देखाएको उनले बताए।