देशका पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

देशका पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

फाइल तस्वीर

काठमाडौँ- हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागेको छ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरू, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानहरू तथा लुम्बिनी, बागमती र कोशी प्रदेशको पहाडी भूभागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा र हिमपात भइरहेको छ।

आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। देशका पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

त्यस्तै, आज राति देशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने पहाडी भूभागमा आंशिक बादल लाग्नेछ। तराईका भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थानहरूमा तथा बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।