सभामुखमा डोलप्रसाद अर्याल निर्वाचित भएको घोषणा

प्रतिनिधिसभाको बैठकका ज्येष्ठ नागरिक अर्जुन नरसिंह केसीले अर्याललाई सभामुख पदमा निर्वाचित भएको औपचारिक घोषणा गरेका हुन्।

काठमाडौँ– प्रतिनिधिसभाको सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद डोलप्रसाद (डिपी) अर्याल निर्वाचित भएको औपचारिक घोषणा गरिएको छ।

आइतबार प्रतिनिधिसभाको बैठकका ज्येष्ठ नागरिक अर्जुन नरसिंह केसीले अर्याललाई सभामुख पदमा निर्वाचित भएको औपचारिक घोषणा गरेका हुन्। उनी शुक्रबार नै सभामुखमा निर्विरोध निर्वाचित भइसकेका थिए।

अर्यालको उम्मेदवारीमा रास्वपाका सभापति रवि लामिछाने प्रस्तावक थिए। प्रताव गर्दै लामिछानेले आफूहरूका उम्मेदवारलाई सर्वसम्मत गराउनका लागि अन्य राजनीतिक दलहरूले देखाएको राजनीतिक सम्मानका लागि धन्यवादसमेत दिए।

साथै सांसदहरू स्वर्णीम वाग्ले, सोबिता गौतम र सुनिल लम्साल समर्थक रहेका थिए। समर्थक समेत रहेका रास्वपाका उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले अर्याललाई शुभकामना दिँदै कार्यपालिका र व्यवस्थापिकाको भूमिकामा अर्याल अनुभवी रहेको विश्वास व्यक्त गरे। अर्यालमा शालीन समन्वयकारी भूमिका रहेकाले अगामी संसद लाभान्वित हुने उनको भनाइ छ।

शुभकामना दिँदै उनले भने, "कार्यपालिका र व्यवस्थापिकाको जुन भूमिका हुन्छ त्यसमा उहाँ अनुभवी हुनुहुन्छ। उहाँले यो गरिमायय पद, संसदको अभिभावको रुपमा बडो जिम्मेवारी पूर्वक भूमिका निभाउनु हुनेछ भन्नेमा हामी विश्वस्त छौं। शालिन समन्वयकारी भूमिका छ उहाँमा। आगामी संसद लाभान्वित हुनेछ।"

आजै उनले राष्ट्रपतिसमक्ष पद तथा गोपनियताको शपथ लिने कार्यक्रम रहेको छ। अबदेखि अर्यालले नै प्रतिनिधिसभा बैठक सञ्चालन गर्नेछन्।