रवीन्द्र मिश्रद्वारा दलीय राजनीतिबाट बिदा लिएको घोषणा

प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत काठमाडौँ क्षेत्र नं १ बाट लगातार तेस्रोपटक पराजित भएसँगै उनले शनिबार दलीय राजनीति छाडेको घोषणा गरेका हुन्।

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले दलीय राजनीतिबाट तत्कालका लागि बिदा लिएको घोषणा गरेका छन्।

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौँ क्षेत्र नम्बर–१ बाट लगातार तेस्रोपटक पराजित भएसँगै उनले शनिबार दलीय राजनीति छाडेको घोषणा गरेका हुन्। यस पटक पनि उनी यहाँबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रञ्जु दर्शनासँग पराजित भएका थिए। त्यसअघि २०७४ र ०७९ को चुनावमा उनी कांग्रेस नेता प्रकाशमान सिंहसँग पराजित भएका थिए।

शनिबार सामाजिक सञ्जालमा लेख्दै उनले दलीय राजनीतिबाट तत्कालका लागि बिदा लिए पनि राजसंस्थाको पक्षमा भने बोलिरहने जनाएका छन्। उनले देशभर राजसंस्था पुनर्स्थापनाको पक्षमा व्यापक जनमत हुँदाहुँदै पनि सो जनमतलाई सङ्गठित र पूँजीकृत गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी विविध कारणले बारम्बार विफल भएको समेत बताएका छन्।

विचारभन्दा माथि देश, देशका लागि नरेश, नवीन समझदारी र संरचनागत पुनरावलोकनको मार्गबिना बदलिँदो भूराजनीति र क्षयीकृत हुँदै गएको चौतर्फी आन्तरिक परिस्थितिका माझ भावी पुस्ताका लागि देश बचाउन र बनाउन सकिँदैन भन्नेमा आफू विश्वस्त रहेको उनको भनाइ छ।

"मैले आज जे निर्णय लिँदैछु, त्यो कुनै निराशा, हताश वा हतारमा लिँदै छैन। धेरै सोचिविचारी लिँदैछु," उनले लेखेका छन्, "....गत ९ वर्षको अभूतपूर्व रूपमा उतार–चढावपूर्ण मेरो राजनीतिक यात्राका क्रममा मैले मेरो विवेक र बुद्धिले भ्याएसम्म इमानदारिपूर्वक राजनीतिक र राष्ट्रिय रूपान्तरणका लागि प्रयास गरेँ। त्यो प्रयास अझै पर्याप्त देखिएको छैन।"

उनले ‘देशभन्दा माथि स्वार्थ’लाई राखेर ‘व्यक्तिले पाउने, देशले नपाउने’ कुनै पनि काम कुनै हालतमा नगर्ने पनि वाचा गरेका छन्। साथै उनले देश–विदेशमा रहेका नेपाली र पार्टीका साथीहरूको समर्थनप्रति आभार व्यक्त गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीको आगामी यात्रामा सफलता र शुभकामना दिएका छन्।

मिश्र बीबीसी नेपाली सेवाको जागिर छाडेर २०७४ मा राजनीतिमा होमिएका थिए। त्यतिबेला आफैले साझा पार्टी स्थापना गरेका उनी पछि विवेकशील पार्टीसँग जोडिएर उक्त दल विवेकशील नेपाली दलसँग एकीकरण गरेर विवेकशील साझा पार्टी बन्न पुगेको थियो। २०७९ को निर्वाचनपछि विवेकशील साझा पार्टी पनि छाडेका उनी त्यही साल असोजमा राप्रपा प्रवेश गरेका थिए।