अतिरिक्त कक्षा सञ्चालनपछि अतिविपन्न दलित बालबालिका लाभान्वित

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकास्थित श्रीकृष्ण माध्यमिक विद्यालयमा अध्ययनरत अतिविपन्न दलित बालबालिकाका लागि सञ्चालित अङ्ग्रेजी माध्यमको अतिरिक्त कक्षाले उनीहरूको सिकाइ र विद्यालयमा नियमितता बढाएको छ।

कञ्चनपुर— यहाँको शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित श्रीकृष्ण माध्यमिक विद्यालयको आधारभूत तहमा अध्ययनरत अतिविपन्न दलित परिवारका बालबालिकाका लागि अङ्ग्रेजी माध्यमको अतिरिक्त कक्षा सञ्चालन गरिएको छ। त्यस्ता बालबालिकाको सिकाइ सुधारका लागि वडा कार्यालयको सहयोगमा कक्षा सञ्चालन गरिएको हो।

हाल यहाँ कक्षा १ देखि ३ सम्म अध्ययनरत ६६ जना दलित तथा अतिविपन्न परिवारका बालबालिकालाई समेटेर अतिरिक्त कक्षा सञ्चालन भइरहेको वडाअध्यक्ष लालबहादुर ऐरले जानकारी दिए। उनका अनुसार आर्थिक अवस्था कमजोर भएका परिवारका अभिभावक मजदुरीका लागि अन्यत्र जाने र बालबालिकालाई पनि सँगै लैजाने गरेका कारण धेरैले विद्यालय छाड्ने अवस्था थियो।

केही महिना मजदुरी गरेर फर्किएपछि बालबालिकाको सिकाइ सुधारका लागि अतिरिक्त कक्षा सञ्चालन गरिएको उनले बताए। उनले भने, “अभिभावक मजदुरीका लागि बाहिर जाँदा बालबालिका पनि सँगै जाने र विद्यालय छोड्ने अवस्था छ। पुनः विद्यालय फर्किंदा कोर्स धेरै अगाडि बढिसकेको हुन्थ्यो। हामीले त्यसको क्षतिपूर्ति गर्न अतिरिक्त कक्षा सञ्चालन गरेका हौँ।”

हाल कक्षा ३ सम्मका बालबालिकाका लागि विद्यालयका दक्ष शिक्षकको व्यवस्था गरी पठनपाठन गरिएको र आगामी शैक्षिक सत्रदेखि कक्षा ५ सम्म विस्तार गर्ने योजना रहेको वडा कार्यालयले जनाएको छ। अतिरिक्त कक्षा सञ्चालनका लागि वडाले ४ लाख रुपैयाँ विनियोजन गरेको छ।

दलित समुदायका बालबालिका विद्यालय समयमा नियमित र त्यसपछि अतिरिक्त कक्षामा थप अध्ययन गर्ने व्यवस्था गरिएको छ। त्यस्ता बालबालिकाका लागि वडाबाट वर्षभरि पुग्ने शैक्षिक सामग्री, अङ्ग्रेजी विषयका पाठ्यपुस्तक, झोला, पोसाक, जुत्ता र मोजालगायतका सामग्री उपलब्ध गराइएको ऐरले जानकारी दिए।

विद्यालयका शिक्षक भरतबहादुर ऐरका अनुसार बालबालिकालाई दुईवटा कक्षामा विभाजन गरेर पठनपाठन गरिँदै आएको छ। अतिरिक्त कक्षा सञ्चालन भएपछि उनीहरूको पढाइमा उल्लेखनीय सुधार देखिएको उनले बताए। उनले थपे, “पहिले धेरै बालबालिका पढाइमा कमजोर थिए र नियमित आउँदैनथे। हाल उनीहरू नियमित हुन थालेका छन्।”

यस कार्यक्रमले विद्यालयमा घट्दै गएको विद्यार्थी सङ्ख्या बढाउन पनि सहयोग पुगेको विद्यालय प्रशासनले जनाएको छ। विद्यालयमा छात्रावास निर्माण कार्य पूरा भएपछि अतिविपन्न बालबालिकालाई आवासीय रूपमा राखेर पढाउने योजना रहेको वडाअध्यक्ष ऐरले बताए। उनले भने, “वडा कार्यालयले विपन्न बालबालिकाको अभिभावक बनेर काम गरिरहेको छ।”

वडास्तरको यो कार्यक्रमले शिक्षामा पहुँच विस्तार, विद्यालय छाड्ने दर (ड्रपआउट) घटाउने र शैक्षिक गुणस्तर सुधार गर्ने अपेक्षा गरिएको छ। दलित अधिकारकर्मी सिवी लुहारले कक्षा अनुगमन गर्दा बालबालिकाको रुचि र शैक्षिक उपलब्धिमा सुधार पाइएको बताए।