सभामुख पदका लागि डोलप्रसाद अर्यालले दिए उम्मेदवारी

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले सभामुख पदमा मनोनयन दर्ता गराएका छन्।

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्याल (डीपी)ले सभामुख पदमा मनोनयन दर्ता गराएका छन्। शुक्रबार रास्वपाबाट सभामुख पदमा मनोनयन दर्ता गराइको पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए।

उनले भने, "पार्टीको उपसभापति डोलप्रसाद अर्याललाई हामीले पार्टीको तर्फबाट सभामुखको उम्मेदवारमा प्रस्ताव गरेर दर्ता गरेका छौँ। यो विषयमा अरु पार्टीहरुसँग पनि छलफल भइरहेको छ। उपसभामुखको लागि अहिले छलफल गरेका छैनौँ। सभामुखको निर्वाचन पश्चात मात्रै यो विषयले प्रवेश लिनेछ। अहिले सभामुखमै केन्द्रित छौँ।"

उनको प्रस्तावकमा प्रतिनिधिसभा सदस्य समेत रहेका पार्टी सभापति रवि लामिछाने छन्। सभामुख पदको निर्वाचनमा चैत २२ गते हुँदैछ। त्यसका लागि संघीय संसद सचिवालयले आज शुक्रबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सभामुख पदको उम्मेदवारी दर्ताको समय तोकेको छ। लगत्तै साढे २ बजे उम्मेदवारको सूची प्रकाशित हुनेछ।