अमेरिकामा पेट्रोलको मूल्य प्रतिग्यालन ४ डलर नाघ्यो

इरानसँगको युद्धका कारण विश्वभर इन्धनको मूल्य बढ्दै जाँदा अमेरिकामा पेट्रोलको औसत मूल्य प्रतिग्यालन ४ डलर नाघेको छ, जुन सन् २०२२ यताकै उच्च हो।

फाइल तस्वीर

इरानसँगको युद्धका कारण विश्वभर इन्धनको मूल्य बढ्दै जाँदा अमेरिकामा पेट्रोलको औसत मूल्य प्रतिग्यालन ४ डलर नाघेको छ। सन् २०२२ को युक्रेन युद्धपछि पहिलो पटक पेट्रोलको मूल्य यति उच्च विन्दुमा पुगेको हो।

‘मोटर क्लब’का अनुसार अहिले साधारण पेट्रोलको औसत मूल्य ४.०२ डलर पुगेको छ। यो युद्ध शुरू हुनुअघिको तुलनामा एक डलरभन्दा बढीको वृद्धि हो। अमेरिकाका विभिन्न राज्यहरूमा आपूर्ति अवस्था, करको दर र स्थानीय मागका आधारमा मूल्यमा केही भिन्नता देखिएको छ।

गत फेब्रुअरी २८ देखि इरानविरुद्धको संघर्ष शुरू भएपछि कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ। मध्यपूर्वका प्रमुख उत्पादक देशहरूबाट हुने आपूर्ति अवरुद्ध भएपछि विश्व बजारमा त्यसको सिधा असर परेको हो।

अर्थतन्त्र र सेवा क्षेत्रमा दबाब 
पेट्रोलको मूल्य वृद्धिसँगै अमेरिकी उपभोक्ता र व्यवसायी दुवै प्रभावित भएका छन्। ढुवानी खर्च बढ्दा खाद्यान्न, बिजुली तथा अन्य दैनिक उपभोग्य वस्तुको मूल्य समेत बढ्ने जोखिम देखिएको छ। हालै गरिएको एक सर्वेक्षण अनुसार करिब ४५ प्रतिशत अमेरिकी नागरिक पेट्रोलको बढ्दो मूल्यप्रति गम्भीर चिन्तित छन्।

इन्धन महँगो हुँदा ढुवानी क्षेत्रमा समेत असर परेको छ। अमेरिकी हुलाक सेवाले केही सेवामा अस्थायी रूपमा ८ प्रतिशत अतिरिक्त शुल्क लगाउने प्रस्ताव गरेको छ। डिजेलको मूल्यमा भएको वृद्धिले मालसामान ढुवानी गर्ने सवारी साधनलाई थप आर्थिक भार परेको छ।

आपूर्ति संकट टार्ने प्रयास 
विश्वको करिब २० प्रतिशत तेल ओसारपसार हुने महत्त्वपूर्ण समुद्री मार्ग अवरुद्ध हुँदा आपूर्ति संकट गहिरिएको छ। मूल्य नियन्त्रणका लागि अन्तर्राष्ट्रिय ऊर्जा निकायले सदस्य राष्ट्रहरूको आपत्कालीन भण्डारबाट ४० करोड ब्यारेल तेल बजारमा ल्याउने निर्णय गरेको छ। यस्तै, अमेरिकाले तेल आपूर्ति सहज बनाउन भेनेजुएला र रुसमाथिको प्रतिबन्धमा आंशिक छुट दिएको छ।

विश्लेषकहरूका अनुसार युद्ध लम्बिएमा र गर्मी मौसमसँगै माग बढेमा पेट्रोलको मूल्य अझै बढ्न सक्ने देखिन्छ।