ओलीको रिहाइका लागि एमालेद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा

एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकको रिहाइ माग गर्दै वडादेखि केन्द्रसम्मका थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ।

काठमाडौँ— नेकपा (एमाले) ले पार्टी अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकको रिहाइ माग गर्दै थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा उपाध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा मंगलबार बसेको सचिवालय बैठकले आन्दोलनका कार्यक्रम तय गरेको हो। बैठकपछि एमाले महासचिव शङ्कर पोखरेलले अध्यक्ष ओली र कांग्रेस नेता लेखकको रिहाइका लागि सडक संघर्षका कार्यक्रम सार्वजनिक गरिएको जानकारी दिए।

उनका अनुसार आगामी चैत २५ गतेसम्म जिल्लास्तरमा बृहत् कार्यकर्ता भेला, चैत २८ गते सबै पालिकास्तरमा विरोध प्रदर्शन तथा वैशाख ३ गते सम्पूर्ण वडा तहमा भेला र प्रदर्शनका कार्यक्रम राखिएका छन्।

यस्तै, वैशाख ७ गते प्रदेशस्तरीय विरोध प्रदर्शन र सभा तथा वैशाख १२ गते राजधानी काठमाडौँमा बृहत् विरोध प्रदर्शन एवं सभा आयोजना गरिने महासचिव पोखरेलले बताए। बैठकले वर्तमान परिस्थितिका सम्बन्धमा नागरिक समाज तथा विभिन्न पेसागत संघ–संगठनसँग जिल्ला र केन्द्रीय स्तरमा संवाद तथा अन्तर्क्रिया गर्नेसमेत निर्णय गरेको छ।

यसैगरी, आगामी वैशाख ९ (अप्रिल २२) मा नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस मनाउन सबै पार्टी कमिटी तथा जनवर्गीय संगठनलाई आह्वान गरिएको छ। चाँडै नै केन्द्रीय कमिटीको बैठक बोलाउने विषयमा पनि छलफल भएको महासचिव पोखरेलले जानकारी दिए।