निर्वाचन समीक्षाका लागि कांग्रेसले सातै प्रदेशमा तोक्यो प्रतिनिधि

कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनको समीक्षा र भावी कार्यदिशाबारे छलफल गर्न सातै प्रदेशमा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको छ।

फाइल तस्वीर

काठमाडौँ— नेपाली कांग्रेसले हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समीक्षा तथा आगामी कार्यदिशाबारे छलफल गर्न सातै प्रदेशमा प्रतिनिधि तोकेको छ।

महामन्त्री प्रदीप पौडेलले शुक्रबार विज्ञप्ति जारी गर्दै केन्द्रीय कार्यसमितिको गत चैत १० र ११ गतेको निर्णयअनुसार समीक्षा कार्यक्रम सञ्चालन गर्न प्रतिनिधि खटाइएको जानकारी दिए। कांग्रेसले १६५ वटै निर्वाचन क्षेत्रका उम्मेदवारहरूसँग प्रत्यक्ष छलफल गरी निर्वाचन परिणाम र पार्टीको आगामी बाटो तय गर्ने विज्ञप्तिमा उल्लेख छ।

केन्द्रीय प्रतिनिधिको उपस्थितिमा प्रत्येक क्षेत्रमा स्थलगत अध्ययन तथा विश्लेषण समेत गरिने जनाइएको छ। कार्यक्रममा सम्बन्धित प्रदेशका संयोजक, केन्द्रीय सदस्य, प्रदेश कार्यसमितिका पदाधिकारी, जिल्ला सभापति, क्षेत्रीय सभापति र प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारहरूको सहभागिता रहनेछ। कार्यक्रमको व्यवस्थापन सम्बन्धित जिल्ला कार्यसमितिले गर्ने महामन्त्री पौडेलले जनाएका छन्।

सार्वजनिक तालिका अनुसार चैत २३ गते कोशी प्रदेशको विराटनगरमा हुने कार्यक्रमका लागि डा. डिला सङ्ग्रौला पन्त र चैत २५ गते मधेस प्रदेशको जनकपुरका लागि फरमूल्लाह मन्सुरलाई प्रतिनिधि तोकिएको छ।

यसैगरी, बागमती प्रदेशको हेटौँडामा आगामी वैशाख ७ गते हुने कार्यक्रमका लागि बहादुरसिंह लामा, गण्डकीको पोखरामा चैत २७ गतेका लागि देवराज चालिसे र लुम्बिनीको दाङमा चैत २९ गतेका लागि योगेन्द्र चौधरी प्रतिनिधि तोकिएका छन्।

कर्णाली प्रदेशको सुर्खेतमा वैशाख ३ गतेका लागि कर्णबहादुर बुढा र सुदूरपश्चिमको कैलालीमा वैशाख ५ गतेको कार्यक्रमका लागि प्रकाश रसाइली स्नेहीलाई जिम्मेवारी दिइएको छ। कांग्रेसले यस कार्यक्रममार्फत पार्टी सुदृढीकरण र आगामी रणनीतिक योजना बनाउने लक्ष्य राखेको छ।