तत्काल गर्नुपर्ने कामबारे सांसदहरूसँग प्रधानमन्त्रीको छलफल

प्रधानमन्त्री वालेन्द्र शाहले कोशी र कर्णाली प्रदेशका सांसदसँग सिंहदरबारमा भेटघाट गरी सम्बन्धित क्षेत्रका समस्या र तत्काल गर्नुपर्ने कामबारे जानकारी लिएका छन्।

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले संघीय सांसदहरूसँग चरणबद्ध छलफल आरम्भ गरेका छन्। उनले आइतबार सिंहदरबारमा कोशी र कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका सांसदहरूसँग छलफल गरेका हुन्।

प्रधानमन्त्री शाहले सम्बन्धित क्षेत्रका समस्या, मुद्दा तथा काम गर्न सकिने सम्भावनाका बारेमा सांसदहरूसँग छलफल गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोककुमार चौधरीले जानकारी दिए। “प्रधानमन्त्रीज्यूले क्षेत्रगत विषयमा समस्या, क्षेत्रगतरूपमा ‘ब्रिफिङ’ लिनुभयो। तत्काल गर्नुपर्ने कामको बारेमा जानकारी लिनुभयो”, उनले भने।

प्रत्येक सांसदले क्षेत्रगत रूपमा आ–आफ्नो समस्या राखेको सांसद चौधरीले बताए। सो क्रममा चौधरीले ट्रेड युनियनहरूले उठाइरहेको लेबी शुल्क रोक्नका लागि श्रम ऐन, २०७४ को दफा ३८ (ज) संशोधन गर्नुपर्ने विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराए।