सुर्खेतकी इनिशा विकको हत्या प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले चारैजना अभियुक्तलाई सामूहिक बलात्कार र कर्तव्य ज्यानको अभियोग लगाउँदै आइतबार अदालतमा मुद्दा दायर गरेको छ।
सुर्खेत— सुर्खेतकी इनिशा बिकको हत्या अभियोगमा जिल्ला सरकारी वकिल कार्यालयले आइतबार जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको छ। कार्यालयले चारैजना अभियुक्तविरुद्ध सामूहिक बलात्कारमा १० देखि १२ वर्ष कैद र ५ लाख रुपैयाँ जरिबाना तथा कर्तव्य ज्यान मुद्दामा आजीवन काराबासको मागदाबी गर्दै ४१ पृष्ठ लामो अभियोगपत्र पेस गरेको हो।
अभियुक्तहरू नाबालक (१६ देखि १८ वर्षका) भएकाले कानूनबमोजिम कुल सजायको दुई तिहाइ कैद माग गरिएको जिल्ला न्यायाधिवक्ता कर्णबहादुर महतले बताए। प्रहरीले चैत ११ गते बुधबार अनुसन्धान प्रतिवेदन बुझाए पनि बीचमा सार्वजनिक बिदा परेकाले आइतबार मात्र अदालतमा अभियोग दर्ता गरिएको उनले जानकारी दिए।
प्रहरीले आफ्नो अनुसन्धानमा सामूहिक बलात्कार नभएको निष्कर्ष निकाल्दै मुख्य अभियुक्तलाई मात्र जबरजस्ती करणी र अन्य तीनजनालाई कर्तव्य ज्यानमा मुद्दा चलाउन सिफारिस गरेको थियो। तर, सरकारी वकिल कार्यालयले भने चारैजनालाई समान अभियोगमा अदालत पुऱ्याएको छ। न्यायाधिवक्ता महतका अनुसार मुख्य अभियुक्तले बलात्कार गर्दा अन्य तीन जनाले मृतकलाई अस्पताल पुऱ्याउने पर्याप्त समय भए पनि प्रयास नगरेकाले उनीहरूको मनसाय पनि मिलेको देखिन्छ।
“किटानी परेका चारैजना १६ देखि १८ वर्षका छन्,” महतले भने, “प्रहरी प्रतिवेदनको तथ्यका आधारमा पनि घटनास्थलमा भएकाहरूले बचाउने प्रयास गरेको देखिएन, त्यसैले समान अभियोग लगाइएको हो।”
सरकारी वकिल कार्यालयले अभियुक्तहरूलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा (१), (२) र (७) तथा उपदफा (३) को खण्ड (घ) बमोजिम सजाय र पीडितलाई क्षतिपूर्ति भराउन माग गरेको छ। अभियुक्तहरूको आइतबारदेखि नै बयान लिन शुरू गरिए पनि सोमबार मात्र थुनछेक बहस हुने सुर्खेत जिल्ला अदालतका सूचना अधिकारी उज्जवलदेव रावलले जानकारी दिए।
यता, सरकारी वकिल कार्यालयले अभियोग दायर गर्दै गर्दा इनिशाका आफन्त र अधिकारकर्मीले दिनभर अदालतअगाडि धर्ना र नाराजुलुस गरेका थिए। अनुसन्धानप्रति अविश्वास जनाउँदै आएका पीडित परिवारले घटनाको निष्पक्ष छानबिन र दोषीलाई कडा कारबाहीको माग गरिरहेका छन्।
गत फागुन २३ गते मृत्यु भएकी इनिशाको शव २४ दिनदेखि कर्णाली प्रादेशिक अस्पतालको शवगृहमै छ। पोस्टमार्टम रिपोर्टप्रति असन्तुष्ट परिवारले पुनः अनुसन्धानको माग गर्दै शव बुझ्न मानेका छैनन्। उषा बालवाटिका विद्यालयमा कक्षा ११ मा अध्ययनरत इनिशाको सामूहिक बलात्कारपछि हत्या गरिएको भन्दै आफन्तहरूले दबाब बढाइरहेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
