दीपक खड्कालाई ७ दिन हिरासतमा राख्न अनुमति

सम्पत्ति शुद्धीकरण कसुरको अनुसन्धानका क्रममा पक्राउ परेका पूर्वऊर्जामन्त्री दीपक खड्कालाई थप ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

फाइल तस्वीर

काठमाडौँ— सम्पत्ति शुद्धीकरणको अभियोगमा अनुसन्धानका लागि पक्राउ परेका पूर्वऊर्जामन्त्री दीपक खड्कालाई थप ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खड्काविरुद्ध थप अनुसन्धान र बयानका लागि म्याद थपको माग गरेपछि अदालतले अनुमति दिएको हो।

काठमाडौँ जिल्ला अदालतले उनलाई सात दिन हिरासतमा राख्न अनुमति दिएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आइतबार बिहान खड्कालाई पक्राउ गरेको थियो। जेन-जी आन्दोलनको दोस्रो दिन भदौ २४ गते खड्काको घरमा जलेका भनिएका नोटका सम्बन्धमा अनुसन्धान अघि बढाइएको हो।

खड्काको बयान आइतबारदेखि नै शुरू भए पनि उनीविरुद्धका प्रमाण बुझ्ने र थप बयान लिने लगायतका कार्य बाँकी नै रहेको विभागले जनाएको छ। विभागको माग र पेश गरिएको बेहोरा मनासिब देखिएपछि अदालतले आइतबारदेखि लागू हुने गरी ७ दिनको म्याद थपिदिएको हो।

“यसमा सम्पत्ति शुद्धीरकण कसूरको जाँचबुझ अनुसन्धानका सिलसिलामा पक्राउ परेका दीपक खड्‌काको आज बयान कार्य शुरू भए पनि निजका विरुद्ध प्रमाणहरू बुझ्ने तथा बयान गराउने समेतका अनसन्धानसम्बन्धी कार्यहरू बाँकी नै रहेकोले सो प्रयोजनको लागि प्रतिवादीलाई हिरासतमा राख्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुमति माग गरेको र अनुमति माग गरेको बेहोरा मनासिव देखिँदा निज प्रतिवादी दीपक खड्‌कालाई हिरासतमा राखी उपयुक्त लेखिए बमोजिमको कार्यहरू सम्पन्न गर्ने प्रयोजनका लागि सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण ऐन, २०६४ को दफा १७ (४) बमोजिम मिति २०८२।१२।१५ गतेदेखि लागू हुने गरी ७ (सात) दिनको म्याद थपको अनुमती प्रदान गरिदिए‌को छ,” आदेशमा भनिएको छ।