पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडाैँ उपत्यकासहित बागमती र कोशी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपात भइरहेको छ।

काठमाडौँ– हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल देशभर साधारणतया बादल लागेको छ। काठमाडाैँ उपत्यकासहित बागमती र कोशी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपात भइरहेको छ।

आज दिउँसो देशका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने बाँकी भूभागमा आंशिक बादल लाग्ने महाशाखाले अनुमान गरेको छ। देशका पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

आज राति कोशी, बागमती,गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली भूभाग तथा बाँकी प्रदेशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ। बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्नेछ भने तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली भूभाग तथा बागमती प्रदेशका हिमाली भूभागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।