ओलीको रिहाइ माग्दै एमाले गर्‍यो देशव्यापी विरोध कार्यक्रम घोषणा

नेकपा एमालेले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउप्रति आपत्ति जनाउँदै तत्काल रिहाइको माग गरेको छ।

ओलीको रिहाइ माग्दै एमाले गर्‍यो देशव्यापी विरोध कार्यक्रम घोषणा
नेपाल फोटो लाइब्रेरी

काठमाडौँ- नेकपा एमालेले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउप्रति आपत्ति जनाउँदै तत्काल रिहाइको माग गरेको छ। शनिबार पार्टी उपाध्यक्ष रामबहादुर थापा बादलको अध्यक्षतामा बसेको आकस्मिक सचिवालय बैठकपछि पार्टीले उक्त कदमलाई गैरकानुनी, प्रतिशोधपूर्ण र लोकतान्त्रिक मूल्यविपरीत भएको भन्दै विरोध कार्यक्रमसमेत घोषणा गरेको हो। 

महासचिव शंकर पोखरेलले भने, "बैठकले पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई आज बिहान गरिएको प्रतिशोधपूर्ण पूर्वाग्रही र गैरकानुनी गिरफ्तारीको निन्दा, भर्त्सना र विरोध गर्दछ। उक्त गिरफ्तारी लोकतान्त्रिक मूल्य कानुनी शासनको मर्म विपरित रहेको हुनाले तत्काल रिहाइ गर्न माग गर्दछ।’

बैठकले २०८२ भदौ २३ र २४ गतेको घटनाको छानबिनका लागि गठन गरिएको गौरीबहादुर कार्की आयोगप्रति असहमति जनाउँदै यसको प्रतिवेदनलाई पूर्वाग्रही र न्यायिक सिद्धान्तविपरीत ठहर गरेको छ। सो घटनाको निष्पक्ष छानबिनका लागि बहालवाला सर्वोच्च अदालतका न्यायाधीशको अध्यक्षतामा नयाँ उच्चस्तरीय आयोग गठन गर्न माग गरिएको छ।

आज अपराह्न ३ बजे देशभरका जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्ने र  चैत १५ गते जिल्ला प्रशासन कार्यालयमार्फत प्रमुख जिल्ला अधिकारीलाई विरोधपत्र बुझाइने एमालेले जनाएको छ। एमालेले लोकतन्त्र, कानुनी शासन र मानवअधिकारको रक्षाका लागि अन्य राजनीतिक दल र नागरिक समाजसँग सहकार्य गर्ने पनि जनाएको छ।